काठमाडौं, चैत्र १७ गते। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामापत्र बुझाएका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बराललाई राजीनामा दिन दबाब दिएको खुलासा भएको छ।प्रचण्ड नेतृत्वको सरकारको समयमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका उपकुलपति बराललाई कुलमान घिसिङलाई जस्तै बर्खास्त गर्ने धम्की दिइएपछि उनले पद त्याग्न बाध्य भएको बताइएको छ।
प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालयका कुलपति पनि भएकाले उनले विश्वविद्यालयको आन्तरिक प्रशासनमा हस्तक्षेप गर्दै आएको आरोप लगाइएको छ। हालै सम्पन्न सिनेट बैठकमा उपकुलपतिलाई नीति तथा कार्यक्रम पेश गर्न नदिएको घटनाले पनि सरकारको हस्तक्षेप स्पष्ट पारेको प्राध्यापक तथा बुद्धिजीवीहरूले बताएका छन्।
बर्खास्ती र राजीनामाका विवाद यसअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समयअगावै हटाइएको घटनाले व्यापक आलोचना पाएको थियो। अहिले उपकुलपति बरालले सुधारका काम गर्दैगर्दा चौतर्फी दबाब सिर्जना गरेर असफल बनाउने प्रयास गरिएको आरोप लागेको छ।
बरालको स्वास्थ्यलाई कारण देखाएर राजीनामा दिलाइएको भए पनि, यो केवल बाहिरी कारण मात्र भएको धेरैले आशंका गरेका छन्। उनको नेतृत्वमा त्रिभुवन विश्वविद्यालयमा ब्यापक सुधारका काम भइरहेको र उनीमाथि नियोजित घेराबन्दी गरिएको चर्चा चलेको छ।
वर्तमान सरकार आएपछि पुराना राम्रो निर्णय उल्ट्याउने क्रम तीव्र बनेको भन्दै नागरिक तहबाट विरोध बढ्दो क्रममा रहेको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.