शिक्षा ऐनकाे मागमा शिक्षकहरूकाे आन्दोलन २० औं दिनमा प्रवेश

शिक्षा ऐनकाे मागमा शिक्षकहरूकाे आन्दोलन २० औं दिनमा प्रवेश

काठमाडौं, वैशाख ८ गते । चैत्र २० गतेदेखि काठमाडौं केन्द्रित रूपमा शुरू भएको शैक्षिक सडक आन्दोलन आज २० औं दिनमा प्रवेश गरेको छ। आन्दोलनमा खटिएका सम्पूर्ण शिक्षक तथा कर्मचारीप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गराउने लक्ष्यका साथ आफूहरू आन्दोलनमा होमिएको स्पष्ट पारेको छ।

महासंघका अनुसार, आन्दोलनको प्रभावका कारण विषयगत उपसमिति शिक्षासम्बन्धी विधेयकको बाँकी काम द्रुत गतिमा सम्पन्न गर्दै अन्तिम चरणमा पुगेको छ। उपसमितिमा रहेका माननीय सदस्यहरूले महासंघसँग भएका सहमति सम्बोधन गर्नुपर्नेमा सहमति जनाएका खबरहरू प्राप्त भएका छन्।

शिक्षा विधेयक उपसमिति र समितिबाट छिट्टै टुंगो लाग्नेमा महासंघ आशावादी छ। यही वैशाख १२ गतेबाट सुरु हुने संसदको वर्षे अधिवेशनको पहिलो बैठकमै विधेयक टेबुल गरी शिक्षा ऐन जारी गर्ने वातावरण बनाउन आन्दोलनमा थप सहभागिता आवश्यक रहेको महासंघले जनाएको छ।

महासंघले शैक्षिक आम हड्ताललाई पूर्ण रूपमा कार्यान्वयन गराउन सबैलाई आग्रह गर्दै यो समय शिक्षा ऐन प्राप्ति नै पहिलो प्राथमिकता भएको स्पष्ट पारेको छ। आन्दोलनमा सहभागी शिक्षक–कर्मचारीहरूको निरन्तरता, धैर्यता, अनुशासन र सहनशीलताको कारण आम जनसमुदायको मन जित्न सफल भएको महासंघको दाबी छ।

यद्यपि, केही सञ्चारमाध्यम र पत्रपत्रिकामार्फत भ्रामक र कपोलकल्पित समाचार सम्प्रेषण गरी आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको महासंघले जनाएको छ। यस्तो गतिविधिप्रति सबैलाई सचेत रहन अनुरोध गर्दै महासंघले निर्णायक आन्दोलनमा एकताबद्ध रूपमा सहभागी हुन अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.