ताप्लेजुङको फुङलिङमा जिपमा करेन्ट लाग्दा आगलागी, ४ जनाको मृत्यु

ताप्लेजुङको फुङलिङमा जिपमा करेन्ट लाग्दा आगलागी, ४ जनाको मृत्यु

ताप्लेजुङ, बैशाख ८ गते। ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडकखण्डमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

पाथीभरा दर्शनका लागि जाँदै गरेको मे १ ज ३०११ नम्बरको बालेरो जिपमा अचानक बिजुलीको तार खस्दा करेन्ट लागेर आगलागी भएको हो। उक्त घटनामा जिपमा सवार ६ जनामध्ये चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेहरूमा फुङलिङ नगरपालिका–१० का सवारी चालक दुर्गा भट्टराई, ललितपुरकी १६ वर्षीया आध्या आचार्य, झापाकी ६९ वर्षीया सरिता पौडेल र ७० वर्षीय विनोद पौडेल रहेका छन्।

उक्त दुर्घटनामा ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

मृतक आध्या आचार्य घाइते सविना आचार्यकी छोरी हुन् भने मृतक सरिता र विनोद पौडेल सविनाका बुबा आमा भएको जानकारी प्राप्त भएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.