गोरखा,बैशाख २६ गते। नेपाल चेम्बर अफ कमर्स गोरखाको अध्यक्षमा रामस्वरुप श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। बुधबार सदरमुकाममा भएको उम्मेदवारी दर्ताको क्रममा अध्यक्ष पदका लागि श्रेष्ठको एकल उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो।
श्रेष्ठ यसअघि चेम्बरका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो। बैशाख २७ गते हुने पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनको सन्दर्भमा आयोजित निर्वाचन कार्यक्रमअन्तर्गत अध्यक्ष पदका लागि केवल श्रेष्ठले उम्मेदवारी दिनुभएको थियो।
निर्वाचन कार्यक्रमअनुसार २३ सदस्य पदका लागि २४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। चेम्बरले आउँदो शनिबार (बैशाख २८) निर्वाचन मिति तय गरेको छ। निर्वाचनअघि सर्वसम्मत प्रक्रिया अपनाउने प्रयास भइरहेको श्रेष्ठले जानकारी दिनुभयो।
निर्वतमान अध्यक्ष र दुई जना मनोनीत सदस्यसहित २७ सदस्यीय कार्यसमिति गठन हुने जनाएको छ।
अहिलेसम्म उपाध्यक्ष शिशुबावु प्रधान, महासचिव बिण्णु राना मगर, कोषाध्यक्ष सुमेन्द्र श्रेष्ठ, सचिव अशोकबावु राना र सहसचिव सिता श्रेष्ठले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। अन्य उम्मेदवारहरूमा ज्ञानु अधिकारी अर्याल, सुर्यमायाँ श्रेष्ठ, अञ्जन खत्री, अरबिन्द कुमार गुप्ता, सन्दिप प्रसाद रौनियार, ज्ञानेन्द्र श्रेष्ठ, भाईकाजी आले, विशाल राना मगर, बिनोद बावु अर्याल, कृण्ण ढकाल, सुजन गतौंला, नोख बहादुर बोगटी, रमेश थापा, सुरेन्द्र बस्नेत, गोकर्ण बहादुर राना मगर, सुस्मिता घले, कृण्ण प्रसाद लामिछाने, गणेश बावु श्रेष्ठ र ज्ञानहरी अर्याल रहेका छन्।
चुनावबाट चयन हुने सदस्यहरूमध्येबाट अध्यक्षले दुई जना उपाध्यक्ष र एक–एक जना महासचिव, कोषाध्यक्ष, सचिव तथा सहसचिव चयन गर्ने छन्।
यी पदहरूमा सर्वसम्मति कायम भएमा बैशाख २७ गते साँझ निर्णय हुनेछ, अन्यथा बैशाख २८ गते बस्ने पहिलो बैठकले चयन गर्ने गोरखा चेम्बर अफ कमर्सले जनाएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.