प्रेस सेन्टर नेपालले तीनै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र

प्रेस सेन्टर नेपालले तीनै तहका सरकारलाई एकसाथ बुझायो ज्ञापनपत्र

पत्रकारको सुरक्षा, प्रेस स्वतन्त्रता र समानुपातिक विज्ञापन प्रणाली सुनिश्चित गर्न माग

काठमाडौं, वैशाख २८ गते। प्रेस सेन्टर नेपालले पत्रकारिता क्षेत्रमा विद्यमान चुनौतीहरू समाधान गर्न तीनै तहका सरकारलाई एकैसाथ ज्ञापनपत्र बुझाएको छ। आइतबार संघीय, प्रदेश र स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर संगठनले पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षा, पूर्ण प्रेस स्वतन्त्रताको रक्षा र प्रेसमैत्री नीतिगत संरचनाको माग गरेको हो।

संघीय सरकारतर्फ संगठनका अध्यक्ष कमल गिरीको नेतृत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर मन्त्री पृथ्वी सुब्बा गुरुङ र सचिव राधिका अर्याललाई १५ बुँदे ज्ञापनपत्र बुझाइएको छ। सो अवसरमा संगठनले पाँचौं राष्ट्रिय महाधिवेशनबाट पारित १७ बुँदे ‘काठमाडौँ घोषणापत्र–२०८१’ पनि प्रस्तुत गर्‍यो।

ज्ञापनपत्रमा आस्थाका आधारमा पत्रकार हटाउने कार्यको अन्त्य, सहिद तथा बेपत्ता पत्रकारको सम्मानमा कोष र पुरस्कारको स्थापना, घाइते पत्रकारको निःशुल्क उपचार र सरकारी अस्पतालमा ५० प्रतिशत छुटको माग समावेश गरिएको छ।

मन्त्री गुरुङले पत्रकारको सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताउँदै प्रेस सेन्टरका मागहरूको सम्भव भएसम्म सम्बोधन गरिने आश्वासन दिए। सचिव अर्यालले संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रता सुरक्षित राख्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

प्रेस सेन्टरका प्रदेश समितिहरूले सम्बन्धित प्रदेश सरकारहरूलाई ज्ञापनपत्र बुझाएका छन्। त्यस्तै, ६५ भन्दा बढी जिल्लामा जिल्ला प्रशासन कार्यालय र स्थानीय तहमा पनि समान विषयमा ज्ञापनपत्र बुझाइएको छ।

संगठनका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित प्रेस नोटमा आन्दोलनको रूपमा उक्त कार्यमा नेतृत्व, समन्वय र सहभागी हुने सबैलाई धन्यवाद दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.