पोखरा, वैशाख ३१ गते। प्रगतिशील साहित्यमार्फत नेपाली समाजमा योगदान पुर्याउँदै आएकी साहित्यकार तथा लोकगायिका हरिदेवी कोइरालालाई ‘गण्डकी वाङ्मय पुरस्कार’ प्रदान गरिने भएको छ। गण्डकी साहित्य सङ्गमद्वारा प्रत्येक दुई वर्षमा गण्डकी क्षेत्रमा क्रियाशील स्रष्टालाई दिइने यो सम्मान यसपटक कोइरालालाई समर्पण गर्ने निर्णय गरिएको हो।
पुरस्कार छनोटका लागि गठित तीन सदस्यीय समितिले सर्वसम्मत रुपमा कोइरालाको नाम सिफारिस गरेको गण्डकी साहित्य सङ्गमका सदस्यले जानकारी दिए। समितिको संयोजन कार्यसमिति सदस्य सुरज उपाध्यायले गरेका थिए भने सदस्यहरूमा रघुनाथ अधिकारी र नारायण परिश्रमी थिए।
कोइरालालाई यही जेठ १० गते, ९६ औं गोकुल जयन्तीको अवसर पारेर एक विशेष समारोहबीच २० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिनेछ।
पोखरा महानगरपालिका–६, बैदाममा वि.सं. २०१५ सालमा जन्मिएकी कोइरालाले करिब पाँच दशकदेखि प्रगतिशील, जनपक्षीय तथा देशभक्तिपूर्ण गीत, कविता सिर्जना गर्दै आइरहेकी छन्। उनले हालसम्म आठ सयभन्दा बढी लोकगीत गाइसकेकी छन् भने उनका दर्जनौं कविता र गीत सङ्ग्रह प्रकाशित छन्।
उनका चर्चित कृति र सिर्जनामा ‘मेरो देशको छातिभित्र दुःखेजस्तो लाग्छ’, ‘तरङ्ग’, ‘सारङ्गीमा भुल्यो मन’, ‘माइतै रमाइलो’, ‘के छ हजुर हालचाल यता रु’, ‘कसका जन्ती आए रु’ जस्ता सङ्ग्रहहरू पर्छन्। साथै उनले तीज गीतहरूमा विशेष योगदान दिएकी छन्। उनका चर्चित गीतहरूमा ‘ऐना हेरेर’, ‘आमा तिम्रो दूधको भाराले’, ‘फूलको बासना’ जस्ता सिर्जनाहरू लोकप्रिय छन्।
सङ्गीत–नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद सदस्यका रूपमा समेत काम गरिसकेकी कोइराला हाल पनि विभिन्न साहित्यिक तथा सांस्कृतिक संस्थासँग आबद्ध छिन्।
‘गण्डकी वाङ्मय पुरस्कार’ यसअघि भेषजराज शर्मा, डा. भवानीप्रसाद पाण्डे, दिल साहनी, कुलबहादुर केसी लगायतका स्रष्टाहरूलाई प्रदान भइसकेको छ। यसै संस्थाले राष्ट्रिय स्तरमा ‘गोकुल वाङ्मय पुरस्कार’ समेत २०५२ सालदेखि प्रदान गर्दै आएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.