गोरखा,जेठ १ गते। गोरखाको पालुङटार नगरपालिका अहिले तीव्र विकास र योजनाको अभ्यासमा जुटेको छ। नेतृत्व सम्हालेका तीन वर्ष पुग्दै गर्दा पालुङटारका मेयर विवश चिन्तनले सपना, संघर्ष र यथार्थलाई मिलाउँदै नगरको मुहार फेर्ने प्रयासलाई तीव्रता दिएका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएका चिन्तनले २०७९ मा पुनः उम्मेदवारी दिँदै सफलताको स्वाद चाखे। तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रहेका चिन्तन हाल वैकल्पिक केन्द्रीय सदस्यका रूपमा क्रियाशील छन्।
भौतिक पूर्वाधारदेखि उद्यमशीलता विकाससम्म
पालुङटारका धेरै सडक डिपिआर भएर पनि बजेटको अभावमा अलपत्र परेका थिए। ६२० किलोमिटर सडक मध्ये मेयर चिन्तनको कार्यकालमा ३१ किलोमिटर पिच, ४ किलोमिटर ढलान र १४ किलोमिटर सडक मर्मत तथा स्तरोन्नति गरिएको छ। बाँकी सडक संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण भइरहेको छ।
नगरपालिकामा ३५० मेट्रिक टन क्षमताको कोल्डस्टोर निर्माण भइसकेको छ भने १६० मेट्रिक टन क्षमताको अर्को कोल्डस्टोर निर्माणको अन्तिम चरणमा पुगेको छ। दैनिक १३०० लिटर दूध निर्यात हुँदै आएको छ, जुन पालुङटारको खाद्य आत्मनिर्भरता योजनाको हिस्सा हो।
शिक्षा, स्वास्थ्य र सहकारीमा सुधार
पालुङटारमा शिक्षा र स्वास्थ्यमा उल्लेखनीय परिवर्तनहरू देखिएका छन्। चार सामुदायिक विद्यालयमा स्कुल बस, स्मार्ट विद्यालयमा स्टाफ नर्स, वडा नं. २ र ३ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ। साथै, १२१ विद्यार्थीहरूलाई छात्रवृत्ति कार्यक्रम मार्फत सहयोग पुर्याइएको छ।
अवधारणा विहीन सहकारीहरू नियन्त्रणमा ल्याउन ५८ मध्ये १० सहकारी खारेज गरिएको छ र विशेष अध्ययन समिति सक्रिय रूपमा अनुसन्धानमा जुटेको छ।
आत्मनिर्भरता र रोजगारीमा जोड
वैदेशिक रोजगारबाट फर्किएका युवालाई आत्मनिर्भर बनाउन ‘सुरक्षित आप्रवासन कार्यक्रम’ लागू गरिएको छ। महिलाहरूलाई उद्यमशील बनाउन साबुन, टुना टपरी, अटो सवारी तालिम लगायतका सीप विकास कार्यक्रम सञ्चालन गरिएका छन्।
सामाजिक सुरक्षामा पहुँच र पारदर्शिता
सामाजिक सुरक्षा भत्ता प्रत्येक टोलसम्म पुर्याउने व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकका लागि पाँच वर्षे सामुदायिक सुधार कार्यक्रम सञ्चालनमा छ। हालसम्म २२०० किसान सूचीकृत भइसकेका छन् र तथ्याङ्क संकलन हुँदैछ, जसले अनुदान प्रणाली पारदर्शी हुने अपेक्षा गरिएको छ।
चुनौतीका बीच सम्भावना
स्मार्ट सिटी, औद्योगिक क्षेत्र र पालुङटार विमानस्थल जस्ता बहुचर्चित योजनाहरू लामो समयदेखि अलपत्र छन्। तर चिन्तनको नेतृत्वमा यी योजनाहरूलाई व्यवस्थित ढंगले पुनः सञ्चालन गर्ने प्रयास जारी छ।
२०७६ मा कोरोना र लकडाउनका कारण अस्तव्यस्त बनेको पालुङटार अहिले नयाँ योजनासहित अगाडि बढिरहेको छ। जनताले देख्ने गरी काम गर्नुपर्छ भन्ने मेयर चिन्तनको भनाइलाई समर्थन गर्दै नगरवासीले पनि स्थानीय सरकारप्रतिको विश्वास बढ्दै गएको देखिन्छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.