Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा नियुक्त

loading views..

काठमाडौं, जेठ ७ गते। नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बैंकको १८औँ गभर्नरका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

आजै बसेको गभर्नर छनोट सिफारिस समितिको बैठकले डा. पौडेलसहित कार्यवाहक गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। तीमध्ये पौडेललाई पहिलो नम्बरमा राखेर मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो।

यसअघि चैत २३ गते तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल समाप्त भएपछि राष्ट्र बैंकको नेतृत्व रिक्त रहँदै आएको थियो। झण्डै डेढ महिनापछि राष्ट्र बैंकले नयाँ गभर्नर पाएको हो।

प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको सहमतिपछि पौडेलको नाम अघि सारिएको हो। सिफारिस समितिका सदस्यसमेत रहेका पौडेललाई देउवाले वैकल्पिक उम्मेदवारको रूपमा प्रस्ताव गरेका थिए।

गभर्नर पदका लागि एक दर्जनभन्दा बढी व्यक्तिहरूको नाम चर्चामा रहेका बेला लामो रस्साकस्सीपछि अन्ततः पौडेलको नाममा सहमति जुटेको हो।

डा. पौडेल २०७९ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए। तर सो चुनावमा उनी स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग भारी मतान्तरले पराजित भएका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्