Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

भच्चेक मोर्डन अस्पताल बन्द प्रकरणमा अजिरकोट गाउँपालिकाको प्रष्टोक्ति

loading views..

गोरखा, जेठ ८ गते। अजिरकोट गाउँपालिका–३ स्थित भच्चेक बजारमा सञ्चालनमा रहेको निजी भच्चेक मोर्डन अस्पताल बन्द भएपछि विभिन्न सामाजिक सञ्जाल तथा माध्यमहरूमा फैलाइएको अनर्गल प्रचारप्रति अजिरकोट गाउँपालिकाले गम्भीर ध्यानाकर्षण गराउँदै खेद प्रकट गरेको छ।

गाउँपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि स्वास्थ्य सेवा सम्बन्धी कुनै पनि निजी संस्था नेपाल सरकारको मापदण्ड, नियम र कानुनभित्र रही सञ्चालन गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर, भच्चेक मोर्डन अस्पतालले ‘स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन कार्यविधि २०७७’ को मापदण्ड समेत पालना नगरेको र गाउँपालिकाबाट पटक–पटक गरिएको दर्ता तथा नविकरणका लागि पत्राचार गर्दा पनि सञ्चालक सम्पर्कमा नआएको जनाइएको छ।

स्वास्थ्य सेवामा देखिएको लापरवाहीका कारण जनस्वास्थ्यमा असर परेको भन्दै गाउँपालिकाले मिति २०८१ साल फागुन १६ गते सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ बरालको नेतृत्वमा अस्पतालमा अनुगमन गरेको थियो। उक्त अनुगमनमा अस्पताल दर्ता तथा नविकरण नगरेको, एक्सपायरी औषधि भेटिएको, सेवा मूल्य सूची नटाँगिएको र एक्सरे सेवा मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको थियो।

गाउँपालिकाका अनुसार यसै आधारमा अनुगमन टोलीले समयमै सुधार गरी जिल्ला प्रशासन कार्यालय गोरखामा जानकारी दिन सुझाव दिएको भए पनि अस्पताल पक्षबाट कुनै सुधार गरिएको थिएन। अन्ततः सो संस्थाले धेरै नाफा कमाउन नसक्दा व्यवसाय बन्द गरेको स्पष्ट पार्दै गाउँपालिकाले सो घटनासँग आफूलाई जोडेर गरिएको प्रचारमा कुनै सत्यता नरहेको जनाएको छ।

गाउँपालिकाले भविष्यमा यस्ता भ्रामक प्रचारप्रति कानुनी कारबाहीको चेतावनी पनि दिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्