Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

जनतासँग माओवादी अभियान राष्ट्रिय एकताको अभियानमा रूपान्तरण : अध्यक्ष प्रचण्ड

loading views..

पोखरा,जेठ ९ गते। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले सञ्चालन गरेको ‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ राष्ट्रिय एकताको अभियानमा रूपान्तरण भएको बताएका छन्।

पोखरा आइपुगेका अध्यक्ष प्रचण्डले आज साँझ प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैतडीदेखि सुरु भएको अभियान पोखरासम्म आइपुग्दा सबैको साझा अभियान बनेको दाबी गरे।

उनले भने, “नेपाली कांग्रेस वा एमाले नेतृत्वको स्थानीय तहमा समेत अभियानलाई स्वागत गरिएको छ। सयौँ स्थानमा प्रत्यक्ष सहयोगसमेत प्राप्त भएको छ। यसले माओवादीको मात्र नभएर राष्ट्रिय एकता र देशको राजनीतिक अनिश्चितता तथा अराजकताको अन्त्यका लागि अभियानको स्वरूप लिएको छ।”

अध्यक्ष प्रचण्डका अनुसार मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको पहिलो चरणको समापन यही शनिबार पोखरामा सभा गरेर गरिनेछ।

अभियानका क्रममा पार्टीका शीर्ष नेताहरूको सहभागिता रहेको र त्यस अवधिमा विभिन्न वर्ग–समुदायबाट प्राप्त सुझावहरूलाई पार्टीले ग्रहण गरेको पनि उनले जानकारी दिए। उनले जनताले उठाएका मागहरू सरकार समक्ष पेस गरिने र आगामी बजेटमा समेटिन पहल गरिने प्रतिबद्धता जनाए।

“विभिन्न संघसंस्था, राजनीतिक दल तथा नागरिकबाट प्राप्त मागहरू सरकारलाई बुझाउनेछौं र बजेटमा समावेश गराउन पहल गर्नेछौं,” अध्यक्ष प्रचण्डले  स्पष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सरकारमा हुँदा होस् वा प्रतिपक्षमा रहँदा पनि पार्टीले सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासनजस्ता मुद्दा नछाडेको उल्लेख गरे।

“सामाजिक न्याय र आर्थिक परिवर्तनका मुद्दा आज पनि जनताबीच समान रूपमा उठिरहेका छन्। यिनै मुद्दाका लागि संसद र सडक दुवै ठाउँबाट खबरदारी गरिरहनेछौं,” उनले भने।

 

loading views..

arrow प्रतिक्रिया दिनुहोस्