पोखरा,जेठ १४ गते। विश्वकै सबैभन्दा शक्तिशाली रकेट ‘स्टारशिप’ को नवौं परीक्षण उडान टेक्सासको बोका चिका क्षेत्रबाट बुधबार बिहान नेपाली समय अनुसार ५:१५ बजे प्रक्षेपण गरियो। तर प्रक्षेपण भएको झण्डै २० मिनेटपछि नै यसमा समस्या देखियो।
यसको इन्जिनमा खराबी देखिन थाल्यो र इन्धन चुहिन थाल्यो, जसपछि अनियन्त्रित हुँदै स्टारशिपको माथिल्लो हिस्सा नष्ट भयो। यसअघि भएका यस्तै दुई परीक्षणहरू पनि पूर्ण रूपमा असफल भएका थिए। दुवैपटक उडान आगोको गोला बनेर सकिएको थियो। त्यसपछि सबैको नजर स्पेसएक्सको यो नयाँ प्रक्षेपणतर्फ केन्द्रित भएको थियो। यो सफल भए एलन मस्कको एक ठूलो सपना पुरा हुने विश्वास गरिएको थियो, तर यसपटक पनि मस्कको मानिसलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्याउने सपना अधुरै रहन पुग्यो।
बोका चिका समुद्रकिनारबाट गरिएको प्रक्षेपण
स्पेसएक्सले बुधबार बिहान दक्षिण टेक्सासस्थित बोका चिका समुद्रकिनार नजिकै रहेको आफ्नो ‘स्टारबेस’ केन्द्रबाट स्टारशिप सुपर हेभी रकेटको नवौं परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गर्यो। यो बहुप्रतीक्षित प्रक्षेपण नेपाली समय अनुसार बुधबार बिहान ५:१५ बजे गरिएको हो। स्टारशिप मार्फत एलन मस्कले मानिसलाई चन्द्रमा र मंगल ग्रहमा बसोबास गराउने सपना साकार पार्ने प्रयास गरिरहेका छन्। यस कार्यक्रमको नाम नै ‘रोड टु मेकिङ लाइफ मल्टिप्लानेटरी’ अर्थात् “जीवनलाई बहुग्रहीय बनाउने बाटो” राखिएको छ। प्रक्षेपण अघि सोमबार एलन मस्कले भनेका थिए कि स्टारशिपले मंगल ग्रहको यात्रा अब ६ महिनामै गर्न सक्छ, जबकि पहिले सो यात्रा गर्न १० वर्ष लाग्ने अनुमान गरिएको थियो।
धर्तीमा फर्किनुअघि नै दुर्घटनाग्रस्त
यस मिसनलाई ‘स्टारशिप फ्लाइट ९’ नाम दिइएको थियो। यसमा ‘सुपर हेभी बुस्टर’ र ‘सिप ३५’ को प्रयोग गरिएको थियो। सुपर हेभी बुस्टर यसअघि ‘फ्लाइट ७’ मा पनि उडेको थियो, र यो उसको दोस्रो उडान थियो। अघिल्ला केही उडानहरू प्राविधिक समस्याका कारण असफल भएका थिए, तर यसपटक उडानले धेरै महत्त्वपूर्ण चरणहरू सफलतापूर्वक पार गर्यो। यद्यपि, प्रक्षेपणपछि केही समयमै स्टारशिपले नियन्त्रण गुमायो। जसका कारण पृथ्वीको वातावरणमा पुनः प्रवेश गर्दा यसले दुर्घटना बेहोर्नु पर्यो। स्पेसएक्सले पुष्टि गरिसकेको छ कि स्टारशिप पृथ्वीमा फर्किने क्रममा टुक्रिएर बिखरियो। यसलाई हिन्द महासागरमा अवतरण गराउने तयारी गरिएको थियो।
‘फ्लाइट टेस्ट सफल भएन’
स्टारशिप दुर्घटना भएपछी स्पेसएक्सले एक्स (Twitter) मा पोस्ट गर्दै भन्यो—
‘फ्लाइट टेस्ट अपेक्षा अनुसार सफल भएन। स्टारशिपले तीव्र, अनियोजित विघटन (breakup) अनुभव गर्यो। हाम्रो टोलीले तथ्याङ्कहरूको समीक्षा गरिरहेकै छन् र अर्को परीक्षण उडानतर्फ अघि बढ्नेछ। यस्ता परीक्षणहरूबाट प्राप्त अनुभवहरू नै भविष्यको सफलताको आधार बन्ने छन्। आजको परीक्षणले हामीलाई स्टारशिपको भरपर्दो क्षमता सुधार गर्न मद्दत पुर्याउनेछ, किनभने स्पेसएक्सले जीवनलाई बहुग्रहीय बनाउने लक्ष्य लिएर अघि बढिरहेको छ।’
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.