पोखरा, जेठ १५ गते। गणतन्त्र स्थापना भएको १७ औँ वार्षिकोत्सवको अवसरमा पुर्ब प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गर्दै गणतन्त्रको रक्षा, प्रयोग र विकासमा एकताबद्ध ढंगले अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
गणतन्त्र दिवस २०८२ का अवसरमा प्रेषित बिज्ञप्तीमार्फत प्रचण्डले गणतन्त्र प्राप्तिका लागि महान् जनयुद्ध र जनआन्दोलनमा प्राण उत्सर्ग गर्ने सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै बेपत्ता र घाइते योद्धाहरूको योगदानप्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रचण्डले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाले पितृसत्तात्मक जहानियाँ राजतन्त्रको अन्त्य मात्र होइन, सम्पूर्ण उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै नागरिक हैसियत प्रदान गरेको छ।” तर, संविधानले प्रत्याभूत गरेका अधिकारहरूको पूर्ण कार्यान्वयन अझै बाँकी रहेको उल्लेख गर्दै उनले समावेशी रुपान्तरणको अभियानलाई तीव्र बनाउनु आवश्यक रहेको बताए।
उनले जोड दिँदै भने, “गणतन्त्र जनयुद्ध र ऐतिहासिक जनआन्दोलनको जगमा स्थापित भएको सत्य इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ। यसलाई संस्थागत गर्दै प्रतिगामी शक्तिहरूको षड्यन्त्रविरुद्ध सचेत रहन आवश्यक छ।”
आजको सन्दर्भमा सरकार सञ्चालनमा देखिएको बेथिति र जनअपेक्षामा देखिएको असन्तुष्टि जनताबीच निराशा फैलाउने खतरा भएको उल्लेख गर्दै उनले यथास्थिति र प्रतिगमन दुबैप्रति सशक्त प्रतिरोध गर्न सच्चा गणतान्त्रिक शक्तिहरूलाई आव्हान गरेका छन्।
सन्देशको अन्त्यमा प्रचण्डले गणतन्त्र दिवसले सबैमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गर्दै फेरिएको व्यवस्थाअनुसार जनताको जीवन परिवर्तन गर्ने अभियानमा समर्पित हुन प्रेरणा दिओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.