Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

‘क्रान्तिको सिपाही’पुष्प ओली योङ कम्युनिस्ट लिग( YCL) अध्यक्षमा सर्बसम्त

loading views..

काठमाडौं, जेठ २३ गते। नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नयाँ नेतृत्व चयन गरेको छ। शुक्रबार सम्पन्न वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओली सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।

निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले पुनः उम्मेदवारी नदिने घोषणा गरेपछि नेतृत्वको दौडमा विभिन्न आकांक्षीको नाम चर्चामा आए पनि अन्ततः ओलीले संगठनको नेतृत्व पक्का गरेका हुन्। अध्यक्ष पदका आकांक्षीमा केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौरागलगायतको चर्चा भए पनि सम्मेलनले एकमतका साथ ओलीलाई नेतृत्व सुम्पिएको हो। महासचिवमा भने गणेश शाही चयन भएका छन्। अन्य पदाधिकारीको नाम घोषणा भने केही दिनभित्र हुने वाईसीएल स्रोतले जनाएको छ।

राजनीतिक यात्रा र योगदान

२०४३ साल पुस ७ गते दाङको पवननगरमा जन्मिएका ओलीको राजनीतिक यात्रा २०५७ सालमा अनेरास्ववियु (क्रान्तिकारी) बाट सुरु भएको हो। पार्टीमा २०५९ सालदेखि पूर्णकालीन कार्यकर्ता बनेका उनले विद्रोहको कठिन समयमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक योजना अन्तर्गत गण्डक क्षेत्रमा जिम्मेवारी पाएका थिए।

२०६१ माघ १९ मा शाही सरकारले आयोजना गरेको नगर निर्वाचन असफल बनाउने क्रममा आन्तरिक बम विस्फोटमा गम्भीर घाइते भएका ओली त्यसपछि राजधानी काठमाडौँमा सरुवा भए। २०६३ सालमा झक्कु सुवेदीसँग जिल्ला समिति सदस्य बनेर काठमाडौँ आएका उनी भक्तपुरमा वाईसीएल सचिवालय सदस्य बने।

२०७४ सालमा रामप्रसाद सापकोटा (दीपशिखा) को अध्यक्षतामा वाईसीएल पुनर्गठन हुँदा ओली सचिव थिए। २०७९ मा उपमहासचिव र प्रचार विभाग प्रमुखको भूमिकामा सक्रिय ओली अन्ततः संगठनको सर्वोच्च नेतृत्वमा पुगेका छन्।

वाईसीएलको नयाँ नेतृत्व चयनसँगै संगठनले अबको यात्रामा नयाँ उचाइ लिने अपेक्षा गरिएको छ। आगामी दिनमा संगठनको सांगठनिक सुदृढीकरण र राजनीतिक सक्रियतामा ओली नेतृत्वले कस्तो प्रभाव पार्छ भन्ने कुराले सबैको ध्यान तानेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्