गुजरात,जेठ २९ गते। अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफ गरेपछि दुर्घटनाग्रस्त हुँदा २४१ जनाको मृत्यु भएको छ। विमानले उडान भरेको केही सेकेन्डमै आपतकालीन मे डे सिग्नल दिएको थियो। तर त्यसपछि सम्पर्कविहीन बनेको विमान विमानस्थल छेउकै आवासीय क्षेत्रमा खसेर क्रयास भएको हो।
बीजे मेडिकल कलेज परिसरमा खस्यो विमान
विमान मेघाणी नगरस्थित बीजे मेडिकल कलेजको चिकित्सक आवासीय भवनमाथि खसेको प्रत्यक्षदर्शीहरू बताउँछन्। ठुलो विस्फोटपछि भवनमा गहिरो क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू ज्यान गुमाएका छन् भने एकजना मात्र जीवित उद्धार भएका छन्।
स्थानीय बासिन्दा पनि मारिए र घाइते
दुर्घटनामा विमानस्थल वरपरका स्थानीय बासिन्दा पनि मारिएका र धेरै संख्यामा घाइते भएका छन्। गुजरात स्वास्थ्य विभागका अतिरिक्त प्रमुख सचिव धनञ्जय द्विवेदीका अनुसार करिब ५० घाइतेहरूलाई अहमदाबाद सिविल अस्पतालमा भर्ना गरिएको छ र उनीहरूको उपचार भइरहेको छ।
उद्धार र राहत कार्य जारी
दुर्घटनापछि भारतीय सशस्त्र बल, एनडीआरएफ र अन्य सुरक्षा निकाय तुरुन्त घटनास्थलमा पुगेका छन्। उद्धार तथा राहत कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन्। मेडिकल टोली, दमकल र अन्य आवश्यक स्रोत परिचालित गरिएको छ।
मृतकको पहिचानका लागि डीएनए परीक्षण
विमानक भीषण दुर्घटनाका कारण धेरै शवहरू चिन्न नसकिने अवस्थामा पुगेका छन्। त्यसैले गुजरात सरकारले मृतकको पहिचानका लागि बीजे मेडिकल कलेजमा डीएनए परीक्षणको व्यवस्था गरिएको छ। पीडित परिवारका अभिभावक र छोराछोरीहरूलाई डीएनए नमुना दिन आग्रह गरिएको छ।
प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिक उड्डयन मन्त्री राममोहन नायडूसँग घटनाबारे विवरण लिँदै सबै किसिमको सहायता तुरुन्त उपलब्ध गराउन निर्देशन दिएका छन्। सबै निकायहरूलाई उच्च सतर्कतामा राखिएको छ।
सीमित उडान पुनः सञ्चालन
घटनापछि केही समय बन्द गरिएको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट सीमित उडान पुनः सुरु गरिएको छ। यद्यपि घटनास्थल वरिपरि अझै सुरक्षाकर्मीले घेरेको र अनुसन्धान जारी रहेको जनाइएको छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.