गोरखाको याङदीमा अकबरे खुर्सानीको क्रान्ति : विदेश पलायन रोकेर गाउँमै समृद्धिको बाटो

गोरखाको याङदीमा अकबरे खुर्सानीको क्रान्ति : विदेश पलायन रोकेर गाउँमै समृद्धिको बाटो

गोरखा जेठ ३० गते। देशको राजधानी काठमाडौंमा दुई दशकसम्म अरूको कम्पनीमा काम गर्दै परिवार पाल्न संघर्षरत थिए धनबहादुर थापा अमृत। कमाइ त हुन्थ्यो, तर महँगी र छोराछोरीको शिक्षाजस्ता दायित्वले उनलाई दिनहुँ पिरोल्थ्यो। अन्ततः उनले जीवनको नयाँ मोड रोजे — आफ्नै गोरखाको गण्डकी गाउँपालिका–२ याङदीमा फर्किएर खेर गइरहेको पुर्ख्यौली जमिनलाई सदुपयोग गर्ने।

सामूहिक पहलबाट सुरु भयो यात्रा

धनबहादुर थापाको यो साहसिक निर्णयले अन्य किसानहरूलाई पनि उत्साहित बनायो। सुन्तला उत्पादक सहकारी संस्था लिमिटेडको पहलमा उनीसहित ५ जना स्थानीय कृषकले ३० रोपनी जमिनमा व्यावसायिक अकबरे खुर्सानी खेती सुरु गरे। गाउँपालिकाको कृषि शाखाको सहकार्यमा १५ लाख रुपैयाँ लगानी जुटाइयो।

उनीहरूले इलामबाट ५० हजार रुपैयाँ प्रतिकिलो दरमा ४ किलो अकबरे खुर्सानीको बीउ खरिद गरे। १५ हजार बिरुवा रोपिएका छन्। यसको स्याहार-सुसारका लागि प्लास्टिक टनेल निर्माण, पानी सञ्चय ट्याङ्की र प्राविधिक तालिमको व्यवस्था गरिएको छ।

अकबरे खुर्सानी : सानो तर लाभदायी व्यवसाय

अकबरे खुर्सानी आकारमा त सानो छ, तर आर्थिक प्रतिफलमा निकै आकर्षक। किसान दिपबहादुर थापाका अनुसार एउटा बोटबाट १ देखि २ किलोसम्म उत्पादन हुने अपेक्षा गरिएको छ। बजार मूल्य प्रतिकिलो ३०० रुपैयाँ रहेकोले उत्पादन राम्रो भएमा किसानहरूले राम्रो आम्दानी गर्ने विश्वास लिएका छन्।

अझ विशेष कुरा त के छ भने – काठमाडौंका अचार कम्पनीहरूसँग सहमति भइसकेको छ। उत्पादन जति भए पनि प्रतिकिलो ३०० रुपैयाँमा लिनेछन्। यसले किसानलाई बजारको चिन्ता नगरी उत्पादनमै केन्द्रित हुन सहज बनाएको छ।

सपना १०० रोपनीसम्म विस्तार गर्ने

यो केवल सुरुवात मात्र हो। किसानहरूले अबको दुई वर्षभित्रै उत्पादन बढाएर १०० रोपनी क्षेत्रफलसम्म विस्तार गर्ने योजना बनाएका छन्। यो वर्ष परीक्षण र अनुभव बटुल्ने वर्षका रूपमा लिइएको छ।

गण्डकी गाउँपालिकाका कृषि शाखा प्रमुख सपना थारू भन्छिन्, “किसानलाई आवश्यक तालिम र सहुलियतपूर्ण अनुदान दिइएको छ। उत्पादन बढेपछि बजार व्यवस्थापनमा पनि गाउँपालिकाले सघाउनेछ।”

गाउँपालिकाको प्रतिवद्धता

गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारको भनाइमा  “कृषक तथा व्यवसायीहरूलाई आत्मनिर्भर बनाउन हामी उत्पादनको बजारीकरणदेखि प्रविधिगत सहयोगसम्म दिन तयार छौं। किसानको आत्मविश्वास बढाउने हाम्रो पहिलो लक्ष्य हो।”

पलायनको विकल्प : गाउँमै रोजगारी

याङदीका यी किसानहरूको कथा अहिले गाउँ फर्किन चाहने धेरै युवाका लागि प्रेरणा बन्न थालेको छ। कृषि क्षेत्रमा व्यावसायिक सोच र सहकारी मोडल अपनाउन सकेमा गाउँमै बसेर आर्थिक समृद्धि सम्भव छ भन्ने यो सफलताले देखाइरहेको छ।

अकबरे खुर्सानीले याङदीको जमिन मात्र हरियाली बनाएको छैन, गाउँका किसानहरूको सपना पनि हरियाली बनाइदिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.