काठमाडौं, असार १ गते। प्रधानमन्त्री कार्यालय अगाडि बिहान अफिस समयमै डोजर सञ्चालन भएपछि सर्वसाधारण हैरान भएका छन्। आइतबार बिहान करिब ९:४५ बजे सडक डिभिजनको टोलीले बालुवाटर क्षेत्रस्थित प्रधानमन्त्री कार्यालयअगाडि डोजर चलाउँदा कार्यालयतर्फ गइरहेका कर्मचारीदेखि सर्वसाधारणसम्म प्रभावित बनेका छन्।
जेठ महिनाभर मौन बसेको सडक डिभिजन असार शुरु भएसँगै सक्रिय देखिएको छ। यसबाट बजेटको सदुपयोग भएको कुरामा आशंका पैदा गरेक छ।तर कामको समय व्यवस्थापन नमिलाउँदा सर्वसाधारणले अनावश्यक सास्ती भोग्नु परेको गुनासो गरेका छन्। अफिस समयमै बाटो छेकिनुका कारण प्रधानमन्त्री कार्यालय जाने कर्मचारी मात्र नभई त्यस क्षेत्र हुँदै गुड्ने गाडी र पैदलयात्रु समेत प्रभावित बनेका छन्।
“काम गर्नुपर्ने बेलामा काम नगर्ने, व्यस्त समयमा अनावश्यक बाधा सिर्जना गर्ने यो प्रवृत्तिले जनताको आक्रोश अझै बढाएको छ,” एक स्थानीय कर्मचारीले बताए। सडक डिभिजनले भने नियमित मर्मत र स्तरोन्नति अन्तर्गत काम भइरहेको जानकारी दिएको छ।
सडक विस्तार र मर्मतको नाममा पटकपटक यस्तो समस्या आउने गरेकाले जिम्मेवार निकायले पूर्व सूचना दिई काम सञ्चालन गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.