तनहुँ ,असार ५ गते। भानु नगरपालिकाको १६औँ नगर अधिवेशन बिहीबार सम्पन्न भएको छ। अधिवेशनमा नगर प्रमुख आनन्दराज त्रिपाठीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्ताव गरेका नीति तथा कार्यक्रम पारित गरिएको छ। ‘साहित्य, पर्यटन र कृषि क्षेत्र हाम्रो, पारौं समृद्ध र समुन्नत भानु हाम्रो’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम अघि सारिएको हो।
नगर प्रमुख त्रिपाठीले अधिवेशनमा राजस्व वृद्धि, सिर्जनात्मक योजना, र समावेशी बजेट तर्जुमा गर्दै ‘समृद्ध नगर, सुखी नागरिक’ निर्माण गर्ने दृष्टिकोण प्रस्तुत गरे। आगामी वर्षका प्राथमिकताहरूमा स्वास्थ्य पहुँच, गुणस्तरीय शिक्षा, कृषि–पशुपालन प्रवद्र्धन, रैथाने वालीको संरक्षण, बजारीकरण, दिगो भौतिक पूर्वाधार, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, उद्यमशिलता, नवप्रवर्तन, र पर्यटन विकास रहेका छन्।
संस्थागत क्षमता र सुशासनमा उच्च प्राथमिकता
नीति तथा कार्यक्रममा संस्थागत क्षमता अभिवृद्धि र सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकता दिइएको छ। त्रिपाठीले संस्थागत संरचना मजबुत नहुँदासम्म समृद्धिका सपना साकार नहुने उल्लेख गर्दै प्रशासनिक दक्षता, उत्तरदायित्व, तालिम, र उत्प्रेरणा कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।
सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवाहरू अनलाइनमैत्री बनाउँदै, नागरिकलाई घरबाटै सेवा लिने वातावरण बनाइनेछ। साथै सार्वजनिक खरिद प्रणालीदेखि विकास निर्माणसम्म पारदर्शिता कायम गरिने र ‘मेरो नगरपालिका, मेरो निगरानी’ नीतिलाई व्यवहारमा उतारिने बताइएको छ।
नागरिक सहभागिता र भ्रष्टाचार विरुद्ध कडाइ
नागरिक गुनासा व्यवस्थापन प्रणाली सशक्त बनाउँदै नियमित सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, र उत्तरदायित्वपूर्ण सहभागिता सुनिश्चित गरिनेछ। नगरपालिकाले शून्य सहनशीलता नीति अपनाउँदै भ्रष्टाचारमुक्त समाज निर्माणमा दृढ प्रतिबद्धता जनाएको छ।
न्यायिक समिति सक्रिय, भानु जन्मस्थलको विकासमा जोड
समान न्याय सुनिश्चित गर्न स्थानीय विवाद समाधानका लागि न्यायिक समितिलाई थप सक्रिय बनाइनेछ। त्यसैगरी ‘भानु जन्मस्थल जाऊँ, भानुलाई चिनाऔँ’ अभियानलाई मूर्तरूप दिन प्रारम्भिक गुरुयोजनाअन्तर्गत आदिकवि भानुभक्तको प्रतिमा, सप्तधाम, साहित्यिक पार्क, र पूर्वाधार निर्माणका लागि संघीय बजेट र दातृ निकायहरूसँग समन्वय गरिने योजना सार्वजनिक भएको छ।
नगर प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीका अनुसार, असार १० गते बस्ने नगरसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्ताव प्रस्तुत गरिनेछ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.