Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

आन्दोलनपछि छ जनाविरुद्ध मुद्दा दायर, हाजिरी जमानीमा छुटेका फरार

विराटनगर। उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलको शङ्कास्पद मृत्यु प्रकरण घटनामा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । शङ्कास्पद मृत्युको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईसहित छ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार उर्लाबारी नगरपालिका–६ का राजेश रणपहेली, सुदीप परियार, दीपेश पौडेल, मेहरमान दर्जी, कुमार राई र रमेश गिरीविरुद्ध मुद्दा दायर भएको हो ।

मुद्दा दायर गरेकामध्ये दुई जना पक्राउ परेका छन् । प्रहरी उपरीक्षक खड्काका अनुसार कुमार राई र मेहरमान दर्जी पक्राउ परका हुन् । यसअघि पक्राउपछि हाजिरी जमानीमा छुटेका चार जना भने फरार भएका छन् । फरार भएकाहरूको खोजी कार्य भइरहेको उनले बताए ।

जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले उर्लाबारी घटनाका आरोपीमाथि बयान जारी रहेको बताए । उनका अनुसार न्यायाधीश सुदर्शन लाछिमानेको इजलासमा मुद्दाको सुनुवाई भइरहेको छ ।

न्याय माग्दै आन्दोलन, पोष्टमार्टम रिपोर्टमा हत्या देखायो

उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको गत पुस ५ गते शङ्कास्पद अवस्थामा मृत्यु भएको थियो । मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदनमा प्रहरीले मृतकको फोटो नै परिवर्तन गरेपछि आफन्त र स्थानीय आन्दोलित बनेका थिए । आफन्त आन्दोलित बनेपछि मङ्गलबार मुद्दा दर्ता भएको थियो ।

प्रहरी उपरीक्षक खड्काले पोष्टमार्टम रिपोर्टले बास्तोलाको हत्या भएको देखिएकाले ६ जना विरुद्ध मुद्दा दायर गरेकाे जानकारी दिए । उनका अनुसार पोष्टमार्टम रिपोर्टमा भ्वाइलेन्ट एपेक्सिया देखाएकाले हत्या भएको दाबीसहित अदालतमा मुद्दा दायर गरिएको हो । यस अघि भने भिसेरा र पाेष्टमार्टमकाे डिटेल रिपोर्ट नआएका कारण समय लागेको बताए ।

उनका अनुसार होटल सञ्चालक राईसँग प्रवीणको विवाद भएको र मध्य रातमा मोबाइलबाट ब्यालेन्स ट्रान्फर पनि भएको थियो ।

प्रहरीले शङ्कास्पद मृत्यु भएको समयमा उनीसँगै रहेका उर्लाबारी–६ का ३१ वर्षीय राजेश रणपहेलीसहित चारजनालाई पक्राउ गरी अभद्र व्यवहार मुद्दामा म्याद थप गरी छानविन गरेको थियो । तर सरकारी वलिकको कार्यालयले मिसिल अध्ययनपछि मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै माघ २ गते रणपहेलीसहितलाई हाजिरी जमानीमा छाडेको थियो ।

आफन्त र स्थानीयले आन्दोलन गरेपछि मङ्गलबार मुद्दा दर्ता भएको हो । तर २५ दिन प्रहरी हिरासतमा बसेर छुटेका रणपहेलीसहित चार जना फरार भएका छन् ।

आफन्तले न्याय माग्दै आन्दोलन गरेपछि उनीहरू फरार भएका हुन् । फरार भएका चारै जनाको खोजी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

उनले फोटो परिवर्तन भएको विषयमा छानविन गर्न डिएसपीको नेतृत्वमा समिति गठन गरिएको बताए । मिसिलमा प्रवीण बास्तोला हो भन्ने पहिचान दिने धेरै प्रमाण रहेको बताउँदै उनले अनुसन्धानमा प्रहरीले लापरवाही नगरेको दाबी गरे । अनुसन्धान अधिकृतले लापरवाही गरेको देखिए कारवाही गरिने उनले बताए ।कोशी अनलाइनबाट।

arrow प्रतिक्रिया दिनुहोस्