Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

बलिदानी सपनाको स्मरण : सहिदहरूको संकल्पलाई जोगाउँदै नयाँ पुस्ता

loading views..

पोखरा, असार १७ गते। जनयुद्धका क्रममा २१ वर्षअघि राज्यपक्षबाट सहादत प्राप्त गरेका वीर योद्धाहरूको सम्मानमा सहिद परिवार समाज कास्कीले सोमबार स्मृति सभा आयोजना गरेको छ।

असार १६कै दिन निर्दोष र निर्भीक सपना बोकेका विजय बास्तोला ‘अजित’, कोपिला रानाभाट ‘सुमन’, देवेन्द्र पोखरेल ‘संकल्प’, उषा लामिछाने ‘प्रज्ञा’ र कुमार विष्ट ‘तुफान’लाई तत्कालीन शाही सेनाले कठोर यातना दिएर हत्या गरेको थियो। स्मृति सभामा सहिद परिवारका सदस्य, नेतागण र क्रान्तिकारी कार्यकर्ताहरूले ती सहिदहरूको आत्मबल, समर्पण र सपनालाई पुनः स्मरण गरे।

सहिद अजितका पुत्र प्रकाश बास्तोलाले आजको परिवर्तन त्यही वीर सहिदहरूको रगतको परिणाम भएको उल्लेख गर्दै भने, “गणतन्त्र आयो, परिवर्तन देखियो, तर ती परिवर्तनका वास्तविक वाहकहरू अझै ओझेलमा छन्। सहिदको सपना अधुरो छ, बलिदानको न्याय अझै बाँकी छ।”

कार्यक्रमको अध्यक्षता गर्दै सहिद पत्नी देवी तिवारी बास्तोलाले आँखा रसाउँदै भनिन्, “असार १६ हाम्रो घरका लागि कालो दिन हो, तर देशका लागि गौरवको। विजयको बलिदान मलाई जीवनभरको गर्व बनेर साथ दिइरहेको छ।”

उनले सहादत प्राप्त गरेका परिवारहरूको पीडा अझै पनि राज्य र पार्टी नेतृत्वबाट बेवास्तामा परेको भन्दै वेपत्ता र घाइते योद्धाहरूको अवस्थालाई छिट्टै सम्बोधन गर्न आग्रह गरिन्। “छोराले बाबुको सपना पछ्याइरहेको छ,” उनले सुनाइन्, “हामी अझै पनि परिवर्तनको यात्रामा छौं।”

कार्यक्रममा नेकपा माओवादी केन्द्रका तेजकुमारी पौडेल, किरण थापा अमोद र नेकपाकी उमा भूजेल ‘सिलु’ लगायतले सहिदहरूको बलिदानलाई केवल सम्झनाको विषय मात्र नभई आजका राजनीतिक र सामाजिक लडाईंहरूमा मार्गदर्शक बनाउनु पर्ने धारणा व्यक्त गरे।

ती सहिदहरू केवल नाम होइनन्– उनीहरू एक सपना हुन्, जसले सत्तालाई होइन, समाजलाई फेरिएको हेर्न चाहन्थे। स्मृति सभाले आज यही सन्देश दिएको छ उनले भनिन-बलिदानको रगत सुक्दैन, त्यो नयाँ पुस्तालाई उज्यालो बनाउने इन्धन हो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्