नेकपा माओवादी केन्द्र वडा नं. ११ मा नव निर्वाचित टिमको स्वागत

नेकपा माओवादी केन्द्र वडा नं. ११ मा नव निर्वाचित टिमको स्वागत

आत्मसमीक्षा र संकल्पका साथ अघि बढ्ने उद्घोष!

पोखरा, असार २१ गते। नेकपा माओवादी केन्द्र पोखरा महानगरपालिका वडा नं. ११ द्वारा नव निर्वाचित पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम वडा अध्यक्ष विष्णु आचार्यको अध्यक्षतामा तथा पार्टी केन्द्रीय सदस्य एवं पूर्व संविधानसभा सदस्य राजकाजी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रमको सञ्चालन वडा सचिव सुनिल लामिछानेले गरेका थिए।

कार्यकर्ताको जोश, नेतृत्वको संकल्प

कार्यक्रममा स्वागत मन्तव्य दिल्लु राम श्रेष्ठले राख्दै, ११ नम्बर वडामा विचार, श्रम र संगठनप्रति समर्पित बुद्धिजीवी, मजदुर, विद्यार्थी र सुकुम्बासी वर्गको व्यापक उपस्थिति हुँदाहुँदै पनि पार्टीले महानगरमा अपेक्षाअनुसार मजबुती नदेखाएको बताउँदै नयाँ नेतृत्वले ‘अभिभावकत्व’ ग्रहण गर्नुपर्नेमा जोड दिए।नेता गुणकुमार श्रेष्ठले गुटबन्दी तत्काल अन्त्य गर्नुपर्ने बताए। “अब योजनाबद्ध कार्यदिशा र स्पष्ट कार्यभारबिना पार्टी अघि बढ्दैन,” उनले भने।

संघर्षको मूल्य र भविष्यको बाटो

नव निर्वाचित कोषाध्यक्ष अनिल परियारले आफू निर्वाचित हुनमा वडा ११ का प्रतिनिधिहरूको योगदान उल्लेख गर्दै धन्यवाद व्यक्त गरे। उनले जनयुद्ध, गणतन्त्र र संविधानको यात्रा स्मरण गर्दै समाजवादको यात्राका लागि अझ एकताबद्ध ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।

सहसचिब चन्द्रबहादुर गुरुङले दुई दशकको निरन्तरता स्मरण गर्दै सर्बहारा वर्गको मुक्ति लक्ष्य अझ अनुशासित भएर मात्र सम्भव हुने बताए।

संगठन र अभियानको पुनःसंयोजन

सचिव सुर्यप्रकाश तिवारीले आफू निर्वाचित भएपछि जिम्मेवारी थप गहिरिएको अनुभूति व्यक्त गर्दै विधि–विधान र योजना अनुसार पार्टीलाई पुनः जनमुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

उपाध्यक्षद्वय पुष्पकमल ढुङगाना र अर्जुन मल्लले शहीद र बेपत्ताहरूको सपना साकार पार्न तथा चुनौतीहरूसँग जुध्दै पार्टीलाई पुनः जनआकर्षणको केन्द्र बनाउने अठोट दोहोर्‍याए।

महानगर र वडास्तरीय एकता–गतिशीलता

महानगर अध्यक्ष हरिप्रसाद भण्डारीले वडा ११ का प्रतिनिधिहरूले सम्मेलन सफल बनाउन खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै साउन ३ पछि सिंगो पार्टी जनमुखी अभियानमा केन्द्रित हुने जानकारी दिए। “अब खबरदारी अभियानसँगै, वडामा जनसरोकारका विषयमा प्रत्यक्ष काम गरेर पार्टीलाई गुणात्मक रूपले अघि बढाउँछौं,” उनले स्पष्ट पारे।

राजकाजी गुरुङको स्पष्ट आत्मसमीक्षा

प्रमुख अतिथि राजकाजी गुरुङले नव निर्वाचित टिमलाई साथ, समर्थन रहने प्रतिवद्धता जनाउँदै कास्कीमा संगठन कमजोर हुनुको कारण आत्मसमीक्षामा खोज्नुपर्ने बताए। “कर्मठ कार्यकर्ता परिचालन गर्न नसक्नु र संगठनमा अराजकता फैलिनु मुख्य कमजोरी रहे,” उनले भने।

उनले ‘को भन्दा म कम’ भन्ने प्रवृत्तिले गम्भीर क्षति पुर्‍याएको उल्लेख गर्दै अब गुटबन्दी होइन, योजना, कार्यशैली र जनमुखी अभियानमार्फत पार्टीलाई पुनर्जीवित गरिनुपर्ने धारणा व्यक्त गरे।

तेजकुमारी पौडेल : “सही विचार, सही राजनीति र सही संगठनको बलमा जित्छौं”

पुर्ब संविधान सभा सदस्य आजको विशेष अतिथि तथा महानगर इञ्चार्ज तेजकुमारी पौडेलले वडाको सक्रियताप्रति आभार प्रकट गर्दै “हामी प्रतिपक्षमा छौं, तर सही दृष्टिकोण भए माओवादी फेरि जनताको पार्टी बन्नेछ” भन्ने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.