काठमाडौं, असार २७ गते। समग्र माओवादी आन्दोलनकी अभिभावक तथा आदरणीय नेतृ सीता दाहालको स्मृति दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको रानीवनस्थित मानव सेवा आश्रममा पुगेर आश्रममा आश्रितहरूलाई भेटघाट र भोजन गराएका छन्।
प्रचण्डले आश्रममा रहेका जेष्ठ नागरिक, अशक्त तथा सडक मानवहरूसँग आत्मीयता पूर्वक समय बिताउँदै उनीहरूसँगै बसेर भोजन पनि गर्नुभयो।
उहाँले प्रधानमन्त्री पदमा रहेकै समयमा हेटौंडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्था गर्न सरकारसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“मानव सेवा आश्रमले जुन प्रकारको समर्पणका साथ देशभर मानव उद्धारको कार्य गरिरहेको छ, त्यसमा सक्दो सहयोग र साथ रहनेछ,” अध्यक्ष प्रचण्डले भन्नुभयो।
उहाँले मानव सेवा आश्रमका प्रयासहरूबाट समाजमा सकारात्मक परिवर्तनको सन्देश प्रवाह भएको उल्लेख गर्दै मानवीय सेवामा आधारित यस्ता कार्यहरू सामाजिक मूल्य, आदर्श र सहअस्तित्वको उदाहरण भएको धारणा पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा मानव सेवा आश्रमका पदाधिकारी, स्वयंसेवक तथा स्थानीय सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता थियो।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.