Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

काठमाडौँ महानगरको आग्रह: डेङ्गीको जोखिम बढेको भन्दै सतर्क रहन सुझाव

loading views..

काठमाडौं, २ साउन।निरन्तर परेको वर्षाका कारण राजधानी काठमाडौँमा डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रण शाखाका स्रोत व्यक्ति ऋषि भुषालका अनुसार विगत एक महिनादेखि झरी परिरहेकाले एडिज जातका पोथी लामखुट्टेको प्रजननमा वृद्धि भएको छ, जसले डेङ्गी फैलाउने सम्भावना बढाएको हो।

भुषालले डेङ्गी सङ्क्रमण पुष्टि भएमा महानगरका वडास्तरमा रहेका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सिटामोल, जीवनजललगायत आवश्यक औषधि सहज रूपमा उपलब्ध गराउने तयारी भइसकेको जानकारी दिए।

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सामान्यभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेकाले थप जोखिम हुने महानगरको निष्कर्ष छ। सोहीअनुसार स्वास्थ्यकर्मी, स्वयंसेविका र सरसफाइकर्मीहरूले आ–आफ्नो क्षेत्रमा पानी जम्न नदिन सरसफाइ अभियान तीव्र पारेका छन्।

डेङ्गी नियन्त्रणका लागि महानगरका ३२ वटै वडामा रहेका सामुदायिक विद्यालयहरूमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गर्दै सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन भइरहेको छ।

डेङ्गीका मुख्य लक्षणहरू

महानगरका अनुसार डेङ्गी सङ्क्रमण भएपछि निम्न लक्षण देखिन सक्छन्:

  • उच्च ज्वरो
  • आँखाको गेडी र पछिल्लो भाग दुख्ने
  • टाउको, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने
  • आलस्य महसुस हुने
  • बिमिरा आउने
  • वाकवाकी लाग्ने, पेट दुख्ने
  • नाक वा गिजाबाट रगत आउने
  • रक्तस्राव वा शरीरमा रगत जमेको दाग देखिनु

सावधानीका उपायहरू

महानगरले निम्न सावधानी अपनाउन सबैलाई अनुरोध गरेको छ:

  • घर, कार्यस्थल तथा सार्वजनिक स्थानमा पानी जम्न नदिनु
  • पानी राख्ने भाँडो छोपेर राख्ने
  • झ्याल–ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने
  • झूल प्रयोग गरेर सुत्ने
  • पूरै शरीर ढाक्ने लुगा लगाउने
  • प्रयोग नभएका प्लास्टिक, टायर, बोतललगायत पानी जम्ने वस्तु हटाउने
  • पानी ट्याङ्की, फूलदानी, गमला आदिलाई नियमित सफा गर्ने

काठमाडौँ महानगरपालिकाले नागरिकहरूलाई डेङ्गी नियन्त्रण र रोकथाममा सहयोग गर्न सक्रिय सहभागी बन्न आह्वान गरेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्