Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

क्यानलाई लगातार दोस्रो वर्ष ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड

loading views..

काठमाडौं,३ साउन । नेपाल क्रिकेट संघ (क्यान)ले अन्तर्राष्ट्रिय स्तरमा फेरि एकपटक गर्व गर्न लायक उपलब्धि हात पारेको छ। क्यानले लगातार दोस्रो वर्ष ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले गत जेठमा घोषणा गरेको डेभलपमेन्ट अवार्ड सूचीअनुसार नेपालले एसियाली क्षेत्रको विजेता बन्दै उक्त अवार्ड जितेको हो। यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट नामिबिया, अमेरिका क्षेत्रबाट बर्मुडा र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट इन्डोनेसिया विजेता बनेका छन्।

शनिबार सम्पन्न आइसिसीको वार्षिक कन्फरेन्समा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले उक्त अवार्ड ग्रहण गरे।

डिजिटल माध्यममार्फत प्रशंसकसँगको सक्रिय सम्पर्क, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग र समर्थकलाई खेलमा थप आकर्षित गर्ने कार्यमा क्यानले प्रदर्शन गरेको सफलताका आधारमा नेपाल लगातार दोस्रो वर्ष विजेता बन्न सफल भएको हो।

यस उपलब्धिले नेपाली क्रिकेटको विश्वसामु उन्नत छवि प्रस्तुत गर्दै डिजिटल क्षेत्रमा सक्रियताले खेल विकासमा कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण पनि दिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्