काठमाडौं, ६ साउन। नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता लिलामणि पोखरेलले वर्तमान सरकार नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको आन्तरिक कलहका कारण आफैँ ढल्ने ठोकुवा गरेका छन्। उनले सरकार ढाल्ने खेलमा माओवादी केन्द्रको कुनै भूमिका नरहेको भन्दै यस्तो दाबी गरेका हुन्।
नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँगको संवादमा पोखरेलले भने, “हामी लागेका छैनौँ। सरकार ढल्ने भए आफैँ ढल्छ। अहिले तत्काल त्यसमा हाम्रो कुनै सरोकार छैन। अहिले कांग्रेस र एमालेको कारणले सरकार बनेको हो र उनीहरुको बीचमा सहमति हुन्जेलसम्म रहन्छ। सहमति टुट्यो भने त्यो सरकार आफैँ ढल्ने हो। हामीले त्यसमा केही गर्नुपर्ने र केही गरेको पनि कुराहरु छैन।”
पोखरेलको यो भनाइले वर्तमान सत्ता समीकरणभित्रको किचलोलाई सतहमा ल्याइदिएको छ। यसले कांग्रेस र एमालेभित्र सरकारको भविष्यलाई लिएर चुलिएको तनावलाई थप उजागर गरेको छ।
प्रचण्ड-शेखर भेटघाट स्वाभाविक, ओली सरकार देशका लागि घातक!
यसैबीच, पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीचको भेटघाटलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। यसले राजनीतिक वृत्तमा भित्रभित्रै भइरहेका भेटघाट र समीकरणका सम्भावित खेलहरूलाई इङ्गित गर्दछ।
पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहुन्जेल मुलुकले दिनदिनै क्षति व्यहोर्ने दाबी गर्दै ओली सरकारलाई देशका लागि हानिकारक समेत भनेका छन्। उनले भने, “केपी ओलीको नेतृत्वमा यो सरकार अझै लामो समय जाने हो भने मुलुक सबै क्षेत्रबाट, संविधान पनि धराशायी हुनसक्ने, मुलुकको अर्थ व्यवस्था डामाडोल हुनसक्ने, सामाजिक सम्बन्धहरु बिग्रिन सक्ने, अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धहरु पनि बिग्रिने केपी ओलीको नेतृत्वमा सरकार रहुन्जेल मुलुकले दिनदिनै क्षति व्यहोर्ने हो।”
पोखरेलको यो भनाइले प्रधानमन्त्री ओलीप्रति माओवादीको तीव्र असन्तुष्टि र वर्तमान राजनीतिक अस्थिरताप्रति गम्भीर चिन्ता प्रकट गरेको छ। अब सरकारको भविष्यलाई लिएर कांग्रेस र एमालेभित्र कस्तो रस्साकस्सी चल्छ, त्यो हेर्न बाँकी नै छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.