कास्की कांग्रेसको क्षेत्रीय समिति आक्रोशित : अनुशासनको नाममा गरिएको कारवाहीको खारेजीको माग

कास्की कांग्रेसको क्षेत्रीय समिति आक्रोशित : अनुशासनको नाममा गरिएको कारवाहीको खारेजीको माग

पोखरा, ६ साउन।  नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसी, पूर्वमहामन्त्री कुमार खड्का र पोखरा–६ का वडाध्यक्ष भवानी भट्टमाथि केन्द्रिय अनुशासन समितिबाट गरिएको कारवाहीको विरुद्धमा कांग्रेस क्षेत्रीय समिति कास्की २ ले खुलेर असन्तुष्टि जनाउँदै कडा विरोध जनाएको छ।

क्षेत्रीय समितिले हालै बसेको बैठकमा सो कार्यवाही जनतामाझ पार्टीप्रति वितृष्णा फैलाउने खालको रहेको र अनुशासनको नाममा गरिएको सो कदम कांग्रेस पार्टीको आन्तरिक लोकतान्त्रिक मूल्य, बहस र सहमतिप्रति कुठाराघात भएको ठहर गरेको छ। समितिले कारवाहीको निर्णय पूर्ण रूपमा खारेज गर्न माग गर्दै कारवाहीमा संलग्न नेताहरूमाथि नै उल्टो अनुशासनको कारवाही गर्नुपर्ने माग समेत गरेको छ।

बैठकले निर्णय गर्दै पार्टीको आन्तरिक विमति, बहस, मतभिन्नता र आलोचनालाई स्वागत गर्दै यसलाई स्वस्थ लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताएको छ। बैठकमा केन्द्रीय सदस्य खड्का र भट्टले आफूहरूमाथि गरिएको कारवाही पूर्वाग्रही, तथ्यहीन र नियतवश भएको भन्दै पार्टीमा पुनरावलोकनको माग गरेका थिए।

नेपाली कांग्रेस कास्कीका सभापति विष्णुप्रसाद बराल, उपसभापति कृष्णप्रसाद कोइराला, सचिव कोबिलाल त्रिपाठी, सहसचिव रामकृष्ण पौडेल, क्षेत्र नं. २ का उपसभापति रामहरि बराल, सचिव रञ्जु भण्डारी, कोषाध्यक्ष नवीन लामिछानेलगायतका नेताहरूको उपस्थितिमा सम्पन्न बैठकमा पार्टीभित्र बौद्धिक बहस, आलोचना र छलफललाई पार्टीद्वारा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइएको थियो।

क्षेत्रीय समितिले निष्कर्षमा भनेको छ – “पार्टीको लोकतान्त्रिक नीति, विचार, पद्धति र मूल्य–मान्यता विपरीत गरिएको कारवाही खारेज गरियोस्। निर्णय प्रक्रिया अपारदर्शी, व्यक्तिगत रिसइवीबाट प्रेरित र लोकतान्त्रिक मूल्यको अवमूल्यन हो। यस्तो कारवाहीले पार्टीलाई विभाजनतर्फ डो¥याउने, अनुशासन र संगठनात्मक एकतालाई गम्भीर चोट पुर्‍याउने खतरा छ।”

पार्टी नेतृत्वबाट पारदर्शिता, आत्मआलोचना र विवेकपूर्ण निर्णयको अपेक्षा गर्दै बैठकले कांग्रेस कास्कीभित्र सहमतिपूर्ण वातावरण निर्माण गर्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न पनि अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.