काठमाडौं, ६ साउन। नेकपा (एमाले) भित्र नेतृत्वको द्वन्द्वले गहिरिँदो रुप लिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनसँगै पार्टी अध्यक्ष केपी शर्मा ओली आक्रोशित देखिएका छन् । एमालेभित्र ‘एक व्यक्ति, एक नेतृत्व’ भन्ने ओलीको लामो प्रयासलाई भण्डारीको उदयले खुला चुनौती दिएको छ ।
भंगालस्थित आफ्नै निवासमा पत्रकारहरूसँगको कुराकानीमा भण्डारीले कड्किँदै भनिन्, “म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ।” उनको यो अभिव्यक्तिलाई ओली नेतृत्वविरुद्धको खुला बगावतको संकेतका रूपमा हेरिएको छ ।
एमालेको हालैको केन्द्रीय समिति बैठकमा भण्डारीको नाम उच्चरित हुँदा ओली कटाक्षमै उत्रिए । ४ साउनमा भण्डारीसँग भएको भेटमा ओलीले सक्रिय राजनीतिमा नआउन चेतावनीसमेत दिएका थिए । उनले पार्टी विभाजन गर्ने तत्त्वहरू सक्रिय भएको आरोप लगाउँदै नेताहरूलाई एकताको निर्देशन दिए, तर त्यो निर्देशनको भोलिपल्टै भण्डारीको तीव्र अभिव्यक्तिले ओलीको हैसियतमै प्रश्न उठ्न थालेको छ ।
भण्डारीले १४ असारमा एमालेको सक्रिय राजनीतिमा पुन: फर्किने घोषणा गरेपछि ओली नेतृत्वमा असहजता देखिएको थियो । भण्डारीको लोकप्रियता, महिला नेतृत्वको सशक्तताका नारा र क्षेत्रीय पहिचानले ओलीको “केन्द्रीय नियन्त्रण” नीति थप संकटमा पारेको छ ।
एमालेभित्र अब एक चर्को द्वन्द्व सुरु हुने संकेत मिल्दैछ – एकातिर एमालेलाई व्यक्तिवादी कब्जाबाट मुक्त गराउने भण्डारीको आकांक्षा, अर्कातिर आफ्ना आलोचकहरूलाई निष्क्रिय बनाउन उद्यत ओलीको रणनीति । भण्डारीको उदय ओलीका लागि मात्र होइन, एमालेका लागि पनि भावी चुनौती बन्ने देखिन्छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.