एनआरएनए जापानको महासचिव पदमा विश्वास गौतम(खगराज) भिड्दै/संस्थागत विकास र पारदर्शिताको प्रतिबद्धता

एनआरएनए जापानको महासचिव पदमा विश्वास गौतम(खगराज) भिड्दै/संस्थागत विकास र पारदर्शिताको प्रतिबद्धता

टोकियो, जापान,७साउन। गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा विश्वास गौतम (खगराज) ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। हाल संस्थाको प्रवक्ताको रूपमा क्रियाशील रहेका गौतमले संस्थालाई पारदर्शी, जवाफदेही र जनमैत्री बनाउने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।

गौतमले भने, “संस्थाको विधि, विधान र जापानको कानूनअनुसार एनआरएनए जापानलाई सबै नेपालीको विश्वासको केन्द्र बनाउने मेरो उद्देश्य हो। संस्थागत विकास, सुशासन र साझा उत्तरदायित्व मेरो कार्यदिशा हुनेछ।”

गौतमले आगामी दुई वर्षभित्र एनआरएनए जापानलाई सबै नेपालीहरूका दुःख–सुखको सहयात्री बनाउने लक्ष्य राखेका छन्। उनले “एनआरएनए जापान मेरो पनि साथी” भन्ने भावना प्रत्येक सदस्यमा विकास गराउने अठोट व्यक्त गरेका छन्।

अनुभव र योगदान
गौतम विगत २५ वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय छन्। उनी ‘जनहित न्यूज’का सम्पादक समेत हुन् भने गलकोट समाज जापानको लेखा अनुगमन तथा अनुशासन समितिका संयोजकको भूमिका समेत निर्वाह गरिरहेका छन्। उनले १२ वर्ष गैरसरकारी संघसंस्थामा काम गरेका छन् भने एनआरएनए जापानमा तीन कार्यकालसम्म प्रत्यक्ष बाहिर रहेर संस्थालाई सहयोग गरेका थिए।

सम्बद्धता र रणनीति
एनआरएनएको सुदृढीकरणका लागि मौजुदा विधानको प्रभावकारी कार्यान्वयन, कार्यदल तथा विभागहरूको पुनर्संरचना, र नयाँ कार्यावधिको संयोजनमा विज्ञहरूको सहभागिता सुनिश्चित गर्ने गौतमको योजना छ। उनले एनआरएनए केन्द्र र जापानबीचको सहकार्यलाई थप बलियो बनाउने प्रतिवद्धता जनाएका छन्।

‘ड्रिम प्रोजेक्ट’ मा समेत सक्रियता
गौतमले गैरआवासीय नेपालीहरूको साझा सपना बनेको ‘एकीकृत नेपाली घर – बहुसांस्कृतिक केन्द्र’ निर्माणमा सहयोगी भूमिका निर्वाह गरिरहेका छन्। उक्त परियोजना एनआरएनए जापानको महत्त्वाकांक्षी योजना हो, जसलाई सफल बनाउन उनले आफ्नो सक्रियता जारी राख्ने बताएका छन्।

आगामी २७ जुलाईमा हुन गइरहेको १२औं महाधिवेशनमा महासचिव पदमा विजयी गराउन जापानवासी सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई समर्थन गर्न उनले आग्रह गरेका छन्।

“समाजसेवा र पत्रकारितामा प्राप्त अनुभवलाई एनआरएनएमार्फत प्रत्यक्ष जनसेवामा रूपान्तरण गर्ने अवसर चाहन्छु,” विश्वास गौतमले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.