पोखरा, ११ साउन। पृथ्वीनारायण क्याम्पसको इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई एक समारोहबीच औपचारिक बिदाइ गरिएको छ। विभाग सभाहलमा आयोजित कार्यक्रममा सहप्राध्यापक पराजुलीलाई ३० वर्षे लामो शिक्षण सेवाको सम्मान स्वरूप दोसल्ला, पुष्पगुच्छा र मायाको चिनो प्रदान गर्दै बिदाइ गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठकले पराजुलीको शिक्षण तथा प्रशासनिक योगदानको उच्च प्रशंसा गर्दै सुखद् तथा सक्रिय अवकाश जीवनको शुभकामना व्यक्त गरे। उनले भने, “उहाँ शैक्षिक मात्र नभई नेतृत्वको भूमिकामा पनि उत्तिकै कुशल रहनुभयो। सेवा निवृत्तिपछि पनि उहाँको उर्जा र अनुभव क्याम्पसका लागि प्रेरणादायी हुनेछ।”
इतिहास विभागका पूर्वप्रमुख प्रा.डा. ज्ञानबहादुर कार्कीले विभागलाई आजको मजबुत अवस्थामा ल्याउन पराजुलीको योगदान अग्रणी रहेको उल्लेख गरे। “उहाँको नेतृत्व, लगनशीलता र शालिन व्यवहारले विभागमा अनुशासन र गतिशीलता ल्याएको छ,” डा. कार्कीले भने।
सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले व्यक्तिगत सम्बन्ध र सहकार्यको अनुभव साझा गर्दै स्वस्थ र सक्रिय जीवनको शुभकामना दिए भने विभाग प्रमुख नारायणप्रसाद ढकालले पराजुलीको तीनवर्षे विभागीय नेतृत्वले विद्यार्थीको इतिहास विषयप्रतिको रुचि बढाएको बताए।
ढकालले भने, “सहप्राध्यापक पराजुली सर ‘साधारण जीवनशैली र शालिन व्यवहार’ का पर्याय हुनुहुन्छ। उहाँको योगदान शिक्षणमा मात्र सीमित छैन, उहाँ विभागीय समन्वय, सहकार्य र सकारात्मक वातावरण निर्माणमा समेत महत्वपूर्ण हुनुहुन्थ्यो।”
स्वयं पराजुलीले ३० वर्षे शिक्षण सेवालाई जीवनको पहिचानको रूपमा व्याख्या गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो योगदान गरेको सन्तुष्टि व्यक्त गरे। “म विद्यार्थी, सहकर्मी र संस्थाको निरन्तर साथका लागि आभारी छु,” उनले भने।
कार्यक्रमको संञ्चालन उपप्राध्यापक चन्द्रकान्त पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तव्य तोयनारायण देवकोटा महेशले राखेका थिए। लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी प्रतिनिधि बद्री आचार्यले समेत पराजुलीको समर्पणशील शिक्षण भावनाको प्रशंसा गरेका थिए।
शिक्षा, शिष्टाचार र सादगीका जीवनदर्शन बोकेका पराजुली अब सेवा निवृत्त भएपनि क्याम्पस समुदायको मन, मुटु र स्मृतिमा सधैं जीवित रहने छन् भन्ने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।