Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

ढुलेर फर्किएका नेताहरूलाई सुबोध शेर्पालीको कडा प्रहार — “अब अर्ति दिने होइन, आत्मासमिक्षा गर्ने हो”

loading views..

काठमाडौं, १५ साउन। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा विभिन्न समयमा पार्टी छोडेर गएका र पछिल्लो चरणमा पुनः प्रवेश गरेका नेताहरूप्रति पार्टीकै एक प्रभाबशाली युवा नेता सुबोध शेर्पालीले तीव्र आक्रोश पोखेका छन्। उनले नामै नलिए पनि सीधा देब गुरुङ, हितमान शाक्य, बाबुरामका पूर्वस्वकीय सहयोगीहरू र बैद्य पक्षबाट आएका नेताहरूलाई लक्षित गर्दै भनेका छन् , “अब तिमीहरुले अर्ति दिने होइन, आत्मासमिक्षा गर्ने समय हो।”

शेर्पालीले सामाजिक सञ्जालमा लेख्दै गहिरो असन्तुष्टि जनाएका छन्। “संकटको बेला अध्यक्ष प्रचण्ड र हामी माओवादीलाई छाडेर बाबुराम भट्टराईतिर लाग्ने, ‘माओवादी सकियो’ भन्दै किरण रोज्ने, नेकपा विभाजनमा ओलीसँग गासिन पुग्ने , यिनै पात्रहरू आज फर्किएर हामीलाई अर्ती उपदेश बाँड्न उद्यत छन्।” उनले कटाक्ष गरे।

किचेन क्याबिनेटसम्म पुगेका ‘प्रचण्डविरोधी’हरू!

शेर्पाली यतिमा मात्र रोकिएनन्। उनले प्रचण्डलाई अध्यक्ष मान्दिन भन्नेहरूसमेत आज प्रचण्डकै किचेन क्याबिनेटमा पुगेको भन्दै तीब्र व्यङ्ग्य गरे। “बैद्यका प्रवक्ता बनेर प्रचण्डलाई अध्यक्ष मान्दिन भन्दै सडकमा उफ्रनेहरू, बाबुरामका स्वकीय बनेर प्रचण्डविरोधी प्रचार गर्नेहरू आज माओवादी केन्द्रमा प्रचण्डकै प्रचार विभाग सम्हाल्न पुगेका छन् , यो कस्तो विडम्बना हो?” उनले सोधे।

“हामीलाई बम हान्ने कांग्रेससँग हातेमालो गरेर, फाइदा उठाउनेहरू आज ‘क्रान्तिकारी’ बनेका छन्”

२०७० सालको निर्वाचनमा माओवादी केन्द्रमाथि भएका बम विस्फोटलगायतका गतिविधिमा कांग्रेससँगको साँठगाँठको कुरा उल्लेख गर्दै शेर्पालीले ती पात्रहरूलाई ‘बटुवा मनुवा’ भनेका छन्। “कांग्रेसको सहयोगमा काठमाडौं–१० लगायत देशभर फाइदा उठाउने, हामीमाथि बम हान्नेहरू आज माओवादीमा फर्केर उफ्रिरहेका छन्,” उनको आक्षेप छ।

“हामी क्रान्तिमा टुटेनौं, तर आज हामीलाई नै शिक्षा दिन थालिएको छ”

शेर्पालीले प्रश्न उठाएका छन्, “जतिबेला तिमीहरू अन्तै थियौ, हामी वर्ग र पार्टीको रक्षामा थियौं। आज फर्किएर हामीलाई अर्ति दिने तिमीहरू को?” भन्दै थपे, “साँचो माओवादी बन्ने हो भने आत्मसमिक्षा गर, हामीलाई अर्ती दिने  होइन।”

उनको यो धारिलो टिप्पणी माओवादी केन्द्रभित्र हाल देखिएको गुटगत खिचातानी, नवप्रवेशी नेताहरूको वर्चस्व विस्तार प्रयास र मूल नेतृत्वप्रति बढ्दो असन्तोषसँग जोडिएको ठानिएको छ।

पार्टीभित्र तनाव गहिरिंदै?

शेर्पालीको पोस्टले माओवादी केन्द्रको आन्तरिक अनुशासन र सांगठनिक स्वास्थ्यमा गम्भीर प्रश्न उठाएको छ। ढुलेर फर्किएका नेताहरूले नेतृत्वकै संरक्षणमा फेरि सशक्त स्थान पाइरहेका बेला, मूलधारमा निरन्तर क्रान्तिमा रहेकाहरूलाई उपेक्षा गरिनु गम्भीर विषय भएको विश्लेषकहरूको भनाइ छ।

उनको फेसबुक स्टाटस्

संकटको बेला अध्यक्ष प्रचण्ड र हामी माओवादीलाई छोडेर बाबुराम भट्टराई क. लाई साथ दिएर गएका, हामीलाई भविस्य छैन माओवादीमा सकिन्छौ भनेर किरण रोजेर गएका र पछिल्लो समय नेकपा विभाजन हुँदा ओली कमरेडसंग गासिएका फेरि फर्केर मुल घर माओवादीमै आएकाहरु हामीले उज्ज्वल बनाएको सुनौलो माओवादी आन्दोलनको भविस्यमा आएर उल्टो सतिसाल उभिएका हामीलाई अर्ति दिन्छन् ? ०७० मा हामीलाई बम हानेको कांग्रेसबाट काठमाण्डौ १० लगायत देशभर मोटो लाभ लिएर हाम्रैमा फर्केर आएका बटुवा मनुवा हरुको आजकालको उफ्राइ अलि बढी नै छ । यसो फर्केर आफ्नो तस्वीर नियाल जतिबेला तिमीहरू अन्तै थियौ । हाम्रो वर्ग र हाम्रो पार्टी विरुद्ध ? खैर तिमीहरू जेसुकै गर हामी एकढिक्का एकताबद्ध सुदृढ पार्टी निर्माण गर्न संघर्ष, रूपान्तरण, एकता गर्ने बिषय जीवन्त पार्टीमा सधैं जारी राख्छौं । हाम्रो बर्ग र बर्गीय पक्षधरतामा कदापी आँच आउन दिदैंनौ । पार्टी फुटला, फुटाउन मलजल गरौंला, कोहि जालान र मस्तले निदाउला भन्ने नसोचे हुन्छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्