काठमाडौं, १९ साउन। नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक चार दिनसम्म चलेर आज सकारात्मक निष्कर्षसहित सम्पन्न भएको छ। साउन १६ गतेदेखि सुरु भएको बैठकले पार्टी एकता, अनुशासन र रुपान्तरणलाई केन्द्रमा राखेर जीवन्त बहसहरू गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले पार्टीभित्रको निजी स्वार्थमा आधारित अराजक समूह तथा पार्टीहितविरोधी गुटहरूलाई पूर्णरूपमा अन्त्य गर्ने सामूहिक संकल्प गरेको छ। नेताहरूका अनुसार, यस निर्णयले पार्टीभित्रको अनुशासन र निष्ठालाई पुनःस्थापित गर्दै संस्थागत एकतालाई सुदृढ पार्नेछ।
बैठकमा सहभागी नेताहरूले औँल्याएअनुसार — छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरूपता सबै पार्टी सदस्यहरूले अवलम्बन गर्नैपर्छ भन्ने मान्यता सबैमा साझा बन्न आवश्यक छ।
बैठकले प्रतिगमन र यथास्थितिवादविरुद्ध सामाजिक-आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि नै अहिलेको मुख्य राष्ट्रिय कार्यभार रहेको निष्कर्ष निकालेको छ। पार्टीले त्यस ऐतिहासिक जिम्मेवारी पूरा गर्न रुपान्तरण र पुनर्गठनको प्रक्रियामा थप तीव्रता दिने निर्णय पनि गरेको छ।
साथै, क. विप्लव सी नेतृत्वको नेकपासहित अन्य क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्ने, समाजवादी मोर्चालाई सुदृढ गर्दै विस्तार गर्ने रणनीति पनि तय गरिएको छ। बैठकमा पार्टीभित्र भएका गल्ती र कमजोरीहरूको समीक्षा गर्दै सुधारका कदम चालिने प्रतिबद्धता समेत जनाइएको छ।
यसैबीच, वर्षाका कारण स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई भदौको तेस्रो हप्ताबाट पुनः निरन्तरता दिने निर्णय पनि गरिएको छ। साथै, दशैंपछि केन्द्रीय समितिको बैठक बोलाइने र सो बैठकबाट पार्टीको राष्ट्रिय महाधिवेशनको मिति तय गरिने भएको छ।
बैठकले पारित गरेका निष्कर्षहरूलाई नेताहरूले दिगो एकता र क्रान्तिकारी धार पुनर्स्थापना गर्ने ऐतिहासिक मोडको रूपमा लिएका छन्।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.