काठमाडौं, २८ साउन। पर्वत समाजले काठमाडौंमा साउन ३१ गते शनिबार बृहत रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको छ।पर्वत जिल्लामा जन्मेर काठमाडौं र देश तथा विदेशमा रहनुभएका पर्वतबासीलाई एउटै मालामा जोड्ने उद्देश्यले स्थापित पर्वत समाजले आफ्नो पहिलो गतिविधिका रुपमा रक्तदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो।
काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय रक्त सञ्चार सेवा शनिबार ११ बजेदेखि सुरु हुने रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुन काठमाडौंमा रहेका पर्वतबासी तथा सम्पूर्ण रक्तदातालाई समाजले आह्वान गरेको छ।
पर्वतबासीबिच निकट परिचय, चिन्तन, सहयोग आदान-प्रदान लगायतका काम गर्ने लक्ष्यसहित स्थापना भएको संस्थाको कार्यक्रममा सहभागी हुन समाजका अध्यक्ष गणेश शर्माले अनुरोध गर्नुभयो।
‘हामी २०८२ जेठमा दर्ता भएका हौं र हाम्रो पहिलो कार्यक्रम रक्तदान र भेटघाट आयोजना गरेका छौं,’ उहाँले भन्नुभयो, ‘रक्तदान जस्तो महान कार्यमा सहभागी हुँदै भेटघाट गर्न सबै ३१ गते शनिबार ११ प्रदर्शनीमार्गमा आउनुहुन हार्दिक निमन्त्रणा गर्दछु।‘
समाजले पहिलो चरणमा पेसा व्यवसायको शिलशिलामा पर्वत जिल्लाबाट काठमाडौं उपत्यका आई अस्थायी तथा स्थायी रुपमा बसोबास गर्दै आउनुभएका सम्पूर्ण पर्वतवासीलाई जोड्दै आपसी एकता, समन्वय र भातृत्वको भावना अक्षुण राखी आफूले आर्जन गरेको सिप र दक्षताको पर्वत जिल्लाको विकास र उत्थान गर्नका लागि नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न दातृनिकाय, सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य र साझेदारी गर्न पहल गर्न, जिल्लामा रहेका विभिन्न सामाजिक मूल्य, मान्यता, संस्कृति, परम्परा र रीतिरिवाजको जगेर्ना गर्दै समाजका विविध कार्यमा आपसी सद्भाव, सहकार्य गर्दै चौतर्फी विकासमा टेवा पुर्याउने र समतामूलक समाजको सिर्जना गर्न, पर्वतवासीको हकहित तथा दुखः सुखमा सहयोग आदानप्रदान गर्ने जनाएको छ।
पर्वतका सातै पालिकाका प्रतिनिधिहरु सहभागी भएर दर्ता भएको संस्थामा जोडिन सम्पूर्ण पर्वतबासीलाई आह्वान समेत गरेको छ।
समाजका महासचिव टिकाराम कार्कीले संस्थाले आफ्नो सदस्यता बिस्तारलाई पनि तिब्रताका साथ अगाडि बढाएकाले यस संस्थाको सदस्य बन्न सम्पूर्ण पर्वतबासीलाई आह्वान गर्नुभयो।