Skip to content
Pokharapress Logo
२८ श्रावण २०८२, बुधबार

देश अन्धकारमा, मन्त्रीको ‘लोडसेडिङ छैन’ भनाइमाथि जनताको प्रश्न

काठमाडौं, २८ साउन । देशैभर झ्याप्प झ्याप्प बत्ती गएर जनता आजित भइरहेको बेला ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको दाबी गरेका छन्। उनका यी भनाइहरू सामाजिक सञ्जालदेखि सर्वसाधारणबीच आलोचनाको मुख्य विषय बनेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहज भएको दाबी गरे। “हामीले सुधारलाई तीव्रताका साथ अघि बढाएका छौं र विद्युत् उत्पादनलाई निरन्तरता दिएका छौं। त्यसैले लोडसेडिङको कुरा निरर्थक रहेको निवेदन गर्दछु,” मन्त्री खड्काले भने।

तर, यस्तै समयमै काठमाडौंसहितका ठूला शहरदेखि ग्रामीण भेगसम्म अनियमित रूपमा बत्ती जाने क्रम जारी छ। व्यापारी, विद्यार्थी र अस्पतालजस्ता महत्वपूर्ण सेवामा असर परेको अवस्थामा मन्त्रीको यो भनाइलाई धेरैले जनताको पीडा बेवास्ता गरेको टिप्पणी गरेका छन्।

मन्त्री खड्काले संसदमा प्रस्तुत विवरणमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात र १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भएको जानकारी दिँदै ५ अर्ब रुपैयाँको मुनाफा भएको दाबी गरे। उनले बाँकी क्षेत्रमा पनि विद्युत् आपूर्ति विस्तार भइरहेको र सरकार सुधारका कदमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

तर यथार्थमा, सामान्य उपभोक्ताले अझै ‘लोडसेडिङको हल्ला’ होइन, ‘लोडसेडिङको अनुभव’ भोगिरहेको बताएका छन्। आलोचकहरू भन्छन्— तथ्याङ्कभन्दा व्यवहारमा सुधार नदेखिएसम्म मन्त्रीको दाबी ‘कागजमै मात्रै उज्यालो’ हुनेछ।

arrow प्रतिक्रिया दिनुहोस्