Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

महिला उद्यमशीलतामा सरकारले नेतृत्व लिनुपर्छ : अध्यक्ष प्रचण्ड

भक्तपुर, २९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको उद्यमशीलता र पेशागत सीप विकासका अभियानमा सरकारले सक्रिय नेतृत्व लिनुपर्नेमा जोड दिनुभएको छ।

भक्तपुरको थिमी ब्याङ्क्वेटमा युथ इको नेपालले आयोजना गरेको ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’को समापन सत्रमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उहाँले महिलाको सीप अभिवृद्धि र आर्थिक सशक्तिकरणका लागि राज्यको अग्रसरता आवश्यक रहेको उल्लेख गर्नुभयो।

“म यो कार्यक्रम र महिला दिदीबहिनीहरूको सहभागिता देखेर प्रभावित भएको छु। यस किसिमको काममा सरकारले नेतृत्व लिनुपर्छ। म पूर्वप्रधानमन्त्रीको हैसियतले पनि यसका लागि पहल गर्ने प्रतिबद्धता जनाउँछु,” उहाँले भन्नुभयो।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहभागी युवा महिलाहरूको लगन, मिहिनेत र उत्साहको प्रशंसा गर्दै तिनलाई प्रतीकात्मक रूपमा “बन्दुकविहीन महिलाहरूको सेना”सँग तुलना गर्नुभयो। उहाँले जनयुद्धका दिनहरूमा महिलामाथि हुने विभेदविरुद्धको विद्रोहमा महिलाको उल्लेखनीय सहभागिता स्मरण गर्दै, अहिलेको मेकअप वर्कसपमा देखिएको जोश र सक्रियताले देशभरका महिलालाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो।

देशका विभिन्न स्थानबाट आएका २,१३१ जनाले एकदिने मेकअप तालिममा सहभागिता जनाएका थिए। यस कार्यक्रमले ‘एसिया लार्जेस्ट मेकअप वर्कसप’को रेकर्ड समेत कायम गरेको आयोजकले जनाएको छ। समापन सत्रमा अध्यक्ष प्रचण्डले उक्त रेकर्डको प्रमाणपत्र आयोजकलाई हस्तान्तरण गर्नुभयो।

arrow प्रतिक्रिया दिनुहोस्