काठमाडौं, ३० साउन । मनसुनको न्यून चापीय रेखा पश्चिममा सक्रिय भएकाले आगामी २४ घण्टा पश्चिम नेपाल बढी प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागमा र केही तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
महाशाखाले बाढी, पहिरो, भू–क्षय, गेग्रान बहाव र डुबानको जोखिम बढ्ने चेतावनी दिंदै नदी–नाला किनार, पहिरो सम्भावित क्षेत्र र जोखिमयुक्त सडक–मार्गमा सतर्क रहन आग्रह गरेको छ। साथै, पछिल्लो मौसमी सूचना नियमित लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।