टोकियो, १ भदौ । कास्की पोखरा समाज जापानले आइतबार एक भव्य बधाई तथा सम्मान समारोहको आयोजना गरी हालै सम्पन्न एनआरएनए जापान (२०२५–२०२७) कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुलाई औपचारिक सम्मान गरेको छ ।
एनआरएनए आईसिसिका उपाध्यक्ष रोविन शेरचनज्यू प्रमुख आतिथ्य रहनुभएको उक्त कार्यक्रममा, नवनिर्वाचित अध्यक्ष सुभास लामिछानेले सम्बोधन गर्दै जापानमा रहेका नेपाली समुदायको साझा हित र समृद्ध भविष्यका लागि सबै संघसंस्थाबीच सहकार्य र सहयात्रा आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले संस्थागत एकता र सहकार्यलाई आफूले पहिलो प्राथमिकता दिने स्पष्ट प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रम कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव जीवन पोख्रेल ‘कन्चन’ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले प्रवासमा नेपाली समुदायको पहिचान, गौरव र अधिकार सुनिश्चिततामा यस्ता संस्थागत एकताले महत्वपूर्ण योगदान पुर्याउनेमा जोड दिनुभयो । साथै, कास्की पोखरा समाज जापानले सञ्चालन गर्दै आएका सामाजिक, साहित्यिक र सांस्कृतिक अभियानलाई अझ सशक्त पार्दै कास्की–पोखराको पहिचानलाई जापानसहित विश्वभर उजागर गर्नुपर्नेमा पनि वक्ताहरू एकमत देखिनुभयो ।