काठमाडौँ, २६ भदौ २०८२।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको पक्षमा जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनको समर्थन गर्दै सरकारले गरेको बर्बर दमन र नरसंहारको घोर निन्दा गर्नुभएको छ। आज एक विस्तृत विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।
उहाँले आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र लुटपाटका घटनाहरू आन्दोलनकारी युवाहरूबाट नभई अवाञ्छित र प्रतिगामी तत्वहरूको घुसपैठबाट भएको दाबी गर्दै सम्पूर्ण घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्नुभएको छ।
जेन-जीका माग र माओवादीको एजेन्डा एउटै
अध्यक्ष प्रचण्डले जेन-जी पुस्ताले उठाएका भ्रष्टाचारविरुद्धका मुद्दा, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सांसद मन्त्री बन्न नपाउने व्यवस्था र उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन जस्ता मागहरू आफ्नो पार्टीले लामो समयदेखि उठाउँदै आएको स्मरण गराउनुभएको छ। “आज जेन-जी पुस्ताले यिनै मुलभूत मुद्दालाई लिएर आन्दोलनमा उत्रनु हाम्रा लागि गर्वको कुरा हो,” विज्ञप्तिमा भनिएको छ, “यसले राष्ट्रले अग्रगमनतर्फ अघि बढ्ने सम्भावनाको ढोका खोलेको छ र यसका लागि जेन-जी पुस्ता विशेष धन्यवादको पात्र हुनुहुन्छ।”
उहाँले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा चालेका कदमबाट अत्तालिएका स्वार्थ समूहले वर्तमान गठबन्धन बनाएको र सोही गठबन्धन सरकारको अकर्मण्यता, दम्भ र संवेदनहीनताका कारण जनताको आक्रोश विस्फोट भएको बताउनुभएको छ।
दमन र घुसपैठको निन्दा, शान्तिपूर्ण समाधानमा जोड
अध्यक्ष प्रचण्डले आन्दोलनको पहिलो दिनमै सरकारले युवाहरूको आवाज सुन्नुको सट्टा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने र बर्बर दमन गरी नरसंहार मच्चाएको आरोप लगाउनुभएको छ। उहाँले दोस्रो दिन देखिएका तोडफोड र आगजनीका घटनाहरू जेन-जी आन्दोलनको आदर्श र घोषित नीतिविपरीत भएको बताउँदै भन्नुभयो, “सिंहदरबार, संसद भवनलगायतका ऐतिहासिक संरचनामाथिको आक्रमण र लुटपाट नियोजित घुसपैठ हो। यसको गम्भीर छानबिन हुनुपर्छ।”
उहाँले लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिदको बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै यसको विकल्प अझ सुदृढ र समुन्नत लोकतन्त्र मात्र हुन सक्ने बताउनुभयो। “संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने निकासले प्रतिगमनलाई फाइदा पुर्याउँछ,” उहाँले भन्नुभएको छ, “त्यसैले सबै समस्याको समाधान संविधानभित्रैबाट खोजिनुपर्छ।”
संयम र एकताका लागि अपिल
अध्यक्ष प्रचण्डले संक्रमणकालीन परिस्थितिको फाइदा उठाउँदै प्रतिगामी शक्तिहरूले व्यवस्था नै उल्ट्याउने षड्यन्त्र गरिरहेकोप्रति सचेत रहन सम्पूर्ण शान्ति, संविधान र गणतन्त्र पक्षधर शक्तिहरूलाई एकजुट हुन अपिल गर्नुभएको छ। उहाँले आफ्नो पार्टी पंक्तिलाई जनताको जिउधन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि तम्तयार रहन निर्देशन दिनुभएको छ।
अन्तमा, उहाँले जेन-जी पुस्ताका जायज मागहरूलाई लोकतान्त्रिक प्रक्रियाबाट पूरा गर्न, सम्मानित राष्ट्रपतिबाट भइरहेको पहललाई सकारात्मक रूपमा लिँदै, र शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले खेलेको भूमिकाको सराहना गर्दै सबै पक्षलाई संयमता, संवाद र शान्तिपूर्ण निकासका लागि आह्वान गर्नुभएको छ। यस संवेदनशील घडीमा विचलित नभई संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिन उहाँले सबैमा आग्रह गर्नुभएको छ।