Skip to content
Pokharapress Logo
३० श्रावण २०८२, शुक्रबार

प्रचण्डद्वारा अभिव्यक्तिको स्पष्टीकरण, नेकपाका नेताहरु निलम्बनमा

काठमाडौं।नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि आफूले दिएको भिडियो अन्तरवार्तामा ‘कम्फरटेबल’ सरकार गठनबारेमा प्रष्टिकरण दिनुभएको छ ।
सो समूहको पार्टी मुख्यालय पेरिसडाँडामा बुधाबर दिउँसो बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले सो प्रष्टिकरण दिनुभएको नेता भीमबहादुर रावलले बताउनुभयो । अध्यक्ष प्रचण्डले देशभित्रका पार्टीहरु एकताबद्ध हुँदा मुलुकको हित हुने भन्दै आफूले अभिव्यक्ति दिएको स्पष्ट पार्नुभएको नेता रावलले जानकारी गराउनुभयो ।
निर्वाचन आयोगलाई पार्टीको निर्णयबारेमा जानकारी गराउने पनि सो पक्षले निर्णय गरेको छ । नेता रावलकाअनुसार आजको बैठकबाट गरेको निर्णयबारेमा निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको हो । लोकतन्त्रको पक्षमा उभिने सबै दलसँग सहकार्य गरी अगाडि बढ्ने पनि सो पक्षले निर्णय गरेको छ । लोकतन्त्रको मर्यादा र रक्षाका लागि पार्टीले अहम् भूमिका निर्वाह गर्ने निर्णय गरेको नेता रावलले जानकारी दिनुभयो ।
एक पक्षले अर्को पक्षलाई कारवाही गर्ने सामान्य प्रक्रिया भएको बताउँदै नेता रावलले पार्टीको बहुमतको आधारमा कारवाही गरिएको दावी गर्नुभयो । संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग निरन्तर सहकार्य र छलफल भइरहेको भन्दै नेता रावलले चाँडै निस्कर्षमा पुगिने बताउनुभयो । आगामी सरकार गठनमा प्रधानमन्त्री कसलाई बनाउने विषय आपसी छलफलबाट टुङ्गो लाग्ने जानकारी दिनुभयो ।
आइतबार २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध अविश्वासको प्रस्ताव लग्ने कि नलग्ने बारेमा अझै पार्टीले टुङ्गो लगाई नसकेको जानकारी दिंदै नेता रावलले अविश्वासको प्रस्ताव दर्ता हुनेबेला नयाँ प्रधानमन्त्रीको उम्मेदवारको टुङ्गो लगाएर अघि बढ्ने बताउनुभयो ।

नेताहरुलाई कारवाही
बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु सुवासचन्द्र नेम्वाङ, प्रभु साह, शान्ता चौधरी, महेश बस्नेत, कर्णबहादुर थापा र सूर्य थापालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको पनि नेता रावलले जानकारी गराउनुभयो ।गोरखापत्र अनलाइनबाट।

arrow प्रतिक्रिया दिनुहोस्