Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

पूर्वाधार अभावले व्यवसायी निराश, एकतामा जोड : चिन्तामणि खरेल

loading views..

पोखरा। पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा संघका अध्यक्ष चिन्तामणि खरेलले २०५७ सालमा स्थापना भएको संघले विभिन्न चुनौतीका बीच पनि २०८२ सम्म आइपुग्दा छुट्टै पहिचान बनाउन सफल भएको बताए। जेन्जी आन्दोलन, युवा जनशक्ति विदेश पलायन र आर्थिक मन्दीका कारण व्यवसाय गम्भीर रूपमा प्रभावित भएको उल्लेख गर्दै उनले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि आवश्यक भौतिक पूर्वाधारको विकास नहुँदा व्यवसायीले अपेक्षित लाभ लिन नसकेको गुनासो गरे।
कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीहरू पहिला नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई प्राथमिकतामा राखेर व्यवसाय गर्नुपर्ने बताए। व्यवसायिक समस्या संवाद र छलफलबाट समाधान गर्नुपर्नेमा जोड दिँदै उनले व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
नेपाल मोबाइल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सोभियत प्रसाईंले महासंघको सञ्जाल छोटो समयमै ७२ जिल्लामा विस्तार भएको जानकारी दिँदै व्यवसायीबीच एकताको आवश्यकता औँल्याए।

सभाले अध्यक्ष खरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव रामचन्द्र तिवारीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गानाथ लामिछानेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।
यसैबीच, चाडपर्व उपहार योजना–२०८२ अन्तर्गत कुपन नम्बर २२२१७ ले मोटरसाइकल, ३३६३१ ले स्कुटर, ४३४१९ ले टेलिभिजन र ६ जनाले स्मार्ट मोबाइल प्राप्त गरेका छन्। कार्यक्रमअघि बास्तोलाथरबाट बाजागाजासहित प्रभातफेरी निकालिएको थियो।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्