Skip to content
Pokharapress Logo
१ माघ २०८२, बिहीबार

सिरानचोक गाउँपालिकामा न्यायिक समिति र मेलमिलापकर्ताका लागि लेखन सीप तालिम सुरु

loading views..

पोखरा।सिरानचोक गाउँपालिकाको आयोजनामा न्यायिक समितिका पदाधिकारी तथा मेलमिलापकर्ताहरूका लागि लेखन सीप सम्बन्धी तालिम आजदेखि सुरु भएको छ। न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष रिता देवकोटाको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता गर्दै उपाध्यक्ष देवकोटाले गाउँमा शान्ति, सद्भाव र न्याय स्थापना गर्न मेलमिलापकर्ताको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले न्यायिक समितिको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै, सिकेका सीपलाई व्यवहारमा उतारेर स्थानीय तहमा आउने विवादहरू छिटो, सहज र न्यायोचित रूपमा समाधान गर्न सबैलाई आग्रह गर्नुभयो।
तालिममा गाउँस्तरमा प्रायः देखिने घरेलु झैँझगडा, जग्गा–जमिन तथा सिमाना विवाद, लेनदेन, सामाजिक तथा पारिवारिक मतभेदलगायतका विषयमा विवाद निरुपण कसरी गर्ने भन्ने विषयलाई प्राथमिकताका साथ समेटिएको न्यायिक समिति संयोजक देवकोटाले जानकारी दिनुभयो।
यस अवसरमा न्यायिक समिति सदस्य तथा सिरानचोक गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष जगदीश्वर ढकालले मेलमिलापकर्ताले आफ्नो भूमिकामा रहँदा गर्न हुने र नहुने व्यवहारबारे स्पष्ट हुनुपर्ने, साथै गोपनीयता कायम गर्नु अनिवार्य रहेको बताउनुभयो।
कार्यक्रममा सिरानचोक गाउँपालिका न्यायिक सहजकर्ता तथा अधिवक्ता रजनी गजुरेलले न्यायिक समितिका लागि लेखन सीप सम्बन्धी सहजीकरण गर्नुभएको थियो। तालिमका क्रममा विवादका पक्षहरूबीच विश्वास निर्माण गर्ने तरिका तथा सहमति लेखनका आधारभूत सीपबारे सहभागीहरूलाई जानकारी गराइएको छ।
तालिममा मेलमिलापकर्ताले कुनै पनि पक्षप्रति पूर्वाग्रह नराख्ने, कानुन विपरीत निर्णय नगर्ने, दबाब वा प्रभावमा नपर्ने र विवादलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने कुरामा विशेष जोड दिइएको छ। साथै हिंसा, आपराधिक गतिविधि तथा गम्भीर कानुनी मुद्दाहरू मेलमिलापको दायराभित्र नपर्ने भएकाले त्यस्ता विषय सम्बन्धित निकायमा पठाउनुपर्ने स्पष्ट पारिएको छ।
तालिमले मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि भई गाउँपालिकामा देखिने विवाद समाधान प्रक्रिया अझ व्यवस्थित, प्रभावकारी र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्