काठमाडौँ।कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेका बहुमत प्रतिनिधि नै उनको विपक्षमा उभिएका छन् । चार वर्षअघिको महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका शेखर कोइरालासमेत अहिले संस्थापन पक्षमै रहँदा पनि ५६.१२ प्रतिशत प्रतिनिधि नीति र नेतृत्व परिवर्तनको मुद्दा बोकेर विशेष महाधिवेशनमा सहभागी भएका छन् ।
मंसिर ०७८ मा भएको १४औं महाधिवेशनमा देउवा ६० प्रतिशत मतसहित सभापति निर्वाचित भएका थिए, उनका प्रतिस्पर्धी कोइरालाका पक्षमा ४० प्रतिशत मत परेको थियो । आइतबार राति ९ बजेसम्म दर्ता भएको विवरणअनुसार २ हजार ६ सय ६२ प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी छन् । कुल प्रतिनिधि संख्या भने ४ हजार ७ सय ४३ छ । सम्पर्कमा रहेका र आउँदै गरेका प्रतिनिधिसमेत गरेर ६० प्रतिशतभन्दा बढी सहभागी हुने आयोजकको दाबी छ ।
विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि फेरि नामदर्ता खुल्नेछ । आफूलाई सभापतिमा जिताउने प्रतिनिधि नै विपक्षमा उभिँदा नेतृत्वमा रहिरहन सभापति देउवामाथि राजनीतिक र नैतिक दबाब बढेको छ ।
पार्टी प्रवक्ता प्रकाशशरण महत भने विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि नआएको दाबी गर्छन् । ‘बहुमत नपुग्ने भएपछि घरमा बसेका प्रतिनिधिलाई समेत बोलाउन थालिएको छ,’ उनी भन्छन् ।
सोमबार बन्दसत्र सुरु हुनुअघि सभापति देउवा वा कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै उपस्थित भएर स्वामित्व लिने/नलिनेबारे सोधिएको प्रश्नमा महतले अवैधानिक भनी कार्यसम्पादन समितिबाट दुई पटक निर्णय गरिएकाले विशेष महाधिवेशनमा सभापति वा कार्यवाहक सभापति गएर समाधान खोज्न सम्भव नभएको बताए ।
‘नियमित महाधिवेशनको तालिका आइसकेको अवस्थामा विशेष महाधिवेशनको औचित्य छैन, यो अवैधानिक हो भनेर कार्यसम्पादन समितिले निर्णय गरिसकेको छ । यस्तो अवस्थामा त्यहीँ गएर सहमति खोज्ने कुरा हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘त्यस दिशामा छलफल भएको पनि मलाई जानकारी छैन । बहुमत प्रतिनिधिलाई घरमा राख्न लगाएर सभापति वा कार्यवाहक सभापति जाने कुरा हुन सक्दैन ।’
विशेष महाधिवेशन नभनी भेलामा परिणत गरे सहमतिको सम्भावना हुने प्रवक्ता महत बताउँछन् । विशेष महाधिवेशन बोलाउने नेताहरूले यसलाई नीति, संकल्प वा निर्वाचनको एजेन्डामा जे भने पनि आफैं व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
देउवाले तत्काल समाधान नदिए हलबाटै नयाँ नेतृत्व चयन गर्नुपर्ने मनस्थितिमा विशेष महाधिवेशनमा सहभागी प्रतिनिधि छन् । महामन्त्री थापा पहिलेदेखि नै पार्टी नेतृत्व परिवर्तन नभई चुनावमा नजाने अडानमा छन् । केही समयअगाडि देउवाको हस्ताक्षरबाट आफूले प्रतिनिधिसभा निर्वाचनको टिकट नलिने सार्वजनिक उद्घोष नै गरेका थिए । अझै सहमति खोज्न अर्का महामन्त्री शर्माले कार्यवाहक सभापति खड्कामार्फत पहल गरिरहेका छन् ।



