Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

सिरानचोकमा लेखनाथको सक्रियता: जनभेटघाट तीव्र, संगठन सुदृढीकरणमा जोड

loading views..

गोरखा। गोरखा निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार लेखनाथ न्यौपानेले चुनावी अभियानलाई तीव्र बनाउँदै आफ्नै पालिका सिरानचोक गाउँपालिकामा जनभेटघाट तथा संगठनात्मक गतिविधिलाई व्यापक बनाएका छन्।
उनकै उपस्थितिमा सिरानचोक गाउँपालिकामा पार्टीका नेता–कार्यकर्ता तथा समर्थकहरूसँग बैठक सम्पन्न भएको छ। बैठकमा स्थानीय संगठन सुदृढीकरण, निर्वाचन रणनीति र जनविश्वास विस्तारका विषयमा गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा निर्वाचन परिचालन समितिका गोरखा जिल्ला इन्चार्ज अमर तमु, क्षेत्र नं. २ का निर्वाचन परिचालन समितिका संयोजक बिशेश्वर कट्टेल, नेकपा केन्द्रीय सदस्य रमेश पोखरेल, सिरानचोक गाउँपालिका इन्चार्ज नवराज पुडासैनी तथा समानुपातिक उम्मेदवार डा. मित्र परियारलगायतले मन्तव्य राख्दै लेखनाथको उम्मेदवारीलाई निर्णायक बनाउन एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका थिए।
“आलोचना र समर्थन दुवै स्वाभाविक”
कार्यक्रममा बोल्दै उम्मेदवार लेखनाथ न्यौपानेले राजनीतिक यात्रामा आलोचना र समर्थन दुवै स्वाभाविक हुने उल्लेख गरे।
“गाली गर्न पनि उपयुक्त पात्र चाहिन्छ र समर्थन गर्न पनि उपयुक्त पात्र चाहिन्छ,” उनले भने, “म गाली गर्नका लागि पनि र समर्थन गर्नका लागि पनि उपयुक्त पात्र हुँ भन्ने आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएको छु।”
उनको भनाइले चुनावी मैदानमा आत्मविश्वास, राजनीतिक दृढता र नेतृत्व क्षमताको संकेत दिएको भन्दै कार्यकर्ताहरूले सकारात्मक प्रतिक्रिया जनाएका थिए।
विजय सुनिश्चित गर्न संगठनात्मक प्रतिबद्धता
कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले पार्टी संगठनलाई अझ मजबुत बनाउने, जनताको भरोसा जित्ने र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए। नेपाली कम्युनिस्ट पार्टीको गाउँपालिका समन्वय समिति अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश समिति सदस्य शारदा घिमिरे, रोहित गुरुङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय स्तरमै सक्रिय अभियान, संगठनात्मक एकता र जनसमर्थन विस्तारसँगै लेखनाथ न्यौपानेको उम्मेदवारी गोरखा–२ मा निर्णायक राजनीतिक प्रतिस्पर्धाको केन्द्र बन्दै गएको विश्लेषण गर्न थालिएको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्