पोखरा, जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा बस्दैछ। बैठक बिहान ११ः३० बजेका लागि बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन्।
बैठकको मुख्य एजेन्डा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने रहेको छ। यही जेठ ५ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेताहरूको नयाँ जिम्मेवारी बाँडफाँटसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।
आजको बैठकले त्यसलाई छलफलपछि टुंग्याएर अन्तरपार्टी निर्देशन (अपानि) मार्फत औपचारिक रूपमा कार्यान्वयन गर्ने तयारी गरेको एमाले स्रोतले जनाएको छ।
गत मंसिर २७ देखि २९ गतेसम्म सम्पन्न एमालेको ११औँ महाधिवेशनपछि नेताहरूको अस्थायी कार्यविभाजन गरिएको थियो। अब भने स्थायी जिम्मेवारी निर्धारण गर्न लागिएको हो।
प्रस्तावअनुसार सचिव भानुभक्त ढकाललाई संगठन विभाग, केन्द्रीय सदस्य शेरबहादुर तामाङलाई स्कुल विभाग, विशाल भट्टराईलाई जनसंगठन तथा डा. सूर्य पाठकलाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिने तयारी गरिएको छ।
त्यस्तै उपाध्यक्ष र उपमहासचिवहरूलाई विभागहरूको समन्वय तथा अनुगमनको जिम्मेवारी प्रस्ताव गरिएको छ।
एमालेभित्र यस कार्यविभाजनलाई केवल प्रशासनिक व्यवस्थापनका रूपमा मात्र नभई आगामी राजनीतिक रणनीति, शक्ति सन्तुलन र नेतृत्वको आन्तरिक सन्देशसँग पनि जोडेर हेरिएको छ।



