तनहुँ,४असार । पर्यटकीय नगरी बन्दीपुरमा आगामी असार ५ देखि ७ गतेसम्म प्रदेशस्तरीय कराते प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रवर्द्धन तथा नेपाल कराते महासंघ गण्डकी प्रदेशको व्यवस्थापनमा गर्न लागिएको हो।
नेपाल कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष मनिराज थापाका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट २५० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगिताले कराते खेलको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा प्रतिस्पर्धात्मक खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामार्फत खेल क्षेत्रको सुदृढीकरणसँगै राष्ट्रिय गौरव र सामाजिक रूपान्तरणमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।




