३१ भदौ,पोखरा । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सर्वदलीय बैठक आह्वान गरेका छन्।
लामिछानेले आज बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने गरी सर्वदलीय बैठक बोलाएका हुन्।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने बताइएको छ।
सरकारको नेतृत्व गरिरहेको दलका सभापति लामिछानेले यसअघि संसद्मा सम्बोधन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सर्वदलीय संयन्त्र गठन गर्ने प्रस्ताव अघि सारेका थिए।
प्रधानमन्त्रीले आह्वान गर्नुपर्ने प्रकृतिका सर्वदलीय बैठकसमेत लामिछानेले बोलाउँदै आएका छन्। यसअघि बाढीपछि पनि उनले सर्वदलीय बैठक आयोजना गरेका थिए।
त्यस्तै, अघिल्लो महिना तराई–मधेशमा साम्प्रदायिक हिंसा भड्किएपछि पनि लामिछानेकै आह्वानमा सर्वदलीय बैठक बसेको थियो।




