काठमाडौं,१०कात्तिक। राजनीतिक विश्लेषक मुमाराम खनालले छिमेकी मुलुक भारतसँग जोडिएका विषयमा प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएका अभिव्यक्तिप्रति गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले राज्यको उच्च पदमा रहेका नेतृत्वकर्ताले नेपालको पक्षबाट प्रतिनिधित्व गरिरहेका छन् कि भारतको भन्दै प्रश्न गरेका हुन्।
हालै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादको सन्दर्भमा ‘भारतले मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको’ धारणा सार्वजनिक गरेका थिए। त्यसैगरी, अर्थमन्त्री वाग्लेले ‘अब राष्ट्रवादको बहानामा भारतको विरोध गर्ने समय समाप्त भइसकेको’ बताएका थिए।
दुवै नेताका यी भनाइप्रति असहमति जनाउँदै खनालले परराष्ट्र मामिला र कूटनीतिमा सहीलाई सही र गलतलाई गलत भन्न सक्ने स्पष्ट अडान आवश्यक हुने उल्लेख गरेका छन्। केही गैरजिम्मेवार नेतृत्वका अभिव्यक्तिले समग्र नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्न नसक्ने उनको जिकिर छ।
आधुनिक विश्व सम्बन्धमा आत्मनिर्भर वा परनिर्भरभन्दा पनि ‘अन्तरनिर्भरता’ को नीति महत्त्वपूर्ण हुने बताउँदै खनालले भारतसँगको सहकार्य नेपालको द्विपक्षीय हित र लाभका आधारमा मात्र तय हुनुपर्ने तर्क गरेका छन्। केवल विरोध वा समर्थनमा सीमित हुनु राष्ट्रवाद नभएको उल्लेख गर्दै उनले देशको सार्वभौमसत्ता र राष्ट्रिय हितका सवालमा सरकार प्रमुख तथा मन्त्रीहरू परिपक्व देखिनुपर्ने औंल्याएका छन्।
टिप्पणीको अन्त्यमा विश्लेषक खनालले राष्ट्रिय हितविपरीतका अपरिपक्व अभिव्यक्ति र चाकडीपूर्ण भाष्यबाटै भविष्यमा राष्ट्रघातको स्तर मापन गरिने चेतावनीसमेत दिएका छन्।






