पोखरा।नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुबीच मिलेर जाने विषयमा छलफल भएको छ।
शुक्रबार दिउँसो देउवा निवास बुढानिलकण्ठमा नेपाली काँग्रेस र जसपाका शीर्ष नेताहरु बीच आगामी दिनमा सहकार्यको विषयमा छलफल भएको हो। छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको नेताहरुले बताएका छन्।
छलफलका क्रममा जसपा नेताहरुले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ता, नागरिकताको समस्या समाधान लगायतका आफ्ना एजेण्डाहरु प्रस्तुत गरेको जसपा, नेपालका अध्यक्ष महन्थ ठाकुरले बताए। कुनै सहमति नभएको र बृहत छलफलको आवश्यकता रहेको ठाकुरको भनाई छ। ‘कांग्रेससँग सबै विषयमा कुराकानी भयो। अहिलेको अवस्थामा मिलेर जाने विषयमा र हामीले पनि आफ्नो एजेण्डा राख्यौँ। हाम्रो एजेण्डा जुन छ, त्यो अब हाम्रो साथीहरु जुन जेलमा छन् तिनीहरु छोड्नुपर्छ राजबन्दीहरुलाई,’ बैठकपछि ठाकुरले भने, ‘नागरिकताको प्रब्लम समाधान हुनुपर्छ। त्यसपछि मुद्दा फिर्ता हुनुपर्छ। यो कुरा हामीले भन्यौँ। उहाँहरुले सबै मिलेर जाऔँ। हामी तपाईहरुको कुरा सुन्न आएको हो भन्ने हाम्रो भनाई थियो। तपाईहरु के भन्नुहुन्छ, पछि हामी बिचार गरौँला भन्यौँ। अहिले केही सहमति भएको छैन। मिलेर जान त सबैले भन्छन् ठिक छ मिलेर जाऔँ। बृहत छलफलको आवश्यकता छ।’
ठाकुरले यस विषयमा माओवादीसँग पनि कुरा गर्नुपर्ने बताए।
नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले जसपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अग्रसरता लिनुपर्ने बताएको र कांग्रेस, माओवादी र जसपाको गठबन्धन बनाउनु उचित हुने धारणा आएको जानकारी दिए। ‘खुला रुपमा अहिलेको सन्दर्भमा एउटा साझा धारणा राष्ट्रिय रुपमा निर्माण हुनुपर्ने सन्दर्भमा मत, अभिमत सबैबाट प्रकट भएको छ। ठोस रुपमा यो कुरामा नै हामी टुंगोमा पुगेका छौ भनेर भनिहाल्ने बेला भएको छैन,’ प्रवक्ता शर्माले भने, ‘तर संसदको पुर्नस्थापना पछाडी अबको राष्ट्रिय राजनीतिले हिड्ने बाटोको सन्दर्भमा खासगरी प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुराको सन्दर्भमा उहाँहरुले अपेक्षा पनि राख्नुभयो। राष्ट्रिय राजनीतिले एउटा निकास दिनुपर्ने र त्यो निकास तर्फ अगाडी बढ्दै गर्दाखेरी नेपाली कांग्रेस पार्टी, नेकपा(माओवादी केन्द्र) र जसपा पार्टी दलहरु एक ठाउँ उभिने परिस्थिति बन्नु उचित हुन्छ भन्ने धारणा उहाँहरु बाट आयो।’
प्रवक्ता शर्माले नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा पनि ओली सरकारको विकल्पतर्फ अग्रसरता लिनेबारे छलफल भएको पनि बताए।पहिलोपोष्टबाट
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.