Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

मानहुँकोटमा केबलकार,जिपलाइन, स्विमिङ सहितको संरचना बन्ने!

loading views..

तनहुँ।व्यास नगरपालिका–५ मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन थालेपछि पर्यटन व्यवसायीहरुले लगानी गर्न उत्सुक भएका छन् । केबलकार, जिपलाइन, स्विमिङ पुलसहित रिसोर्ट बनाउन निजी स्तरबाट अर्बौ रुपियाँ खर्च गर्न तत्परता देखाएको व्यास नगरपालिकाले जनाएको छ ।

चार अर्वको एक प्रस्ताव स्विकृत भएको र विस्तृत परियोजना प्रतिवेदन आउन बाँकी रहेको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो । ‘‘व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतास समूहले मानहुँकोटमा चार अर्बको लगानी गर्छौ भनेर प्रस्ताव पेश भएको छ त्यो स्विकृत गरेका छौं’’ नगर प्रमुख न्यौपानेले भन्नुभयो । लगानीकर्तालाई आर्कर्षित गर्न सार्वजनिक निजी साझेदारी ऐन पारित गरी सहज वातावरण बनाईएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

यस ऐनको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनाको निर्माण, सञ्चालन तथा सार्वजनिक सेवा प्रवाह गरी मुलुकको वृहत सामाजिक तथा आर्थिक विकास गर्न सहज हुने विश्वास नगर प्रमुख न्यौपानेको छ । सर्वसाधरणलाई भरपर्दो, किफायती र सर्वसुलभ रुपमा सेवा सुविधा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न ऐन निर्माण गरिएको उहाँको भनाई छ । कम्पनीको प्रस्तावपछि व्यास नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) का लागि स्वीकृत प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार कम्पनीले पाटनबाट मानहुँकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र ४० रोपनी जमिन लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । प्रस्ताव निश्चित अवधिको लागि सम्झौता गर्ने र वार्षिक रुपमा सार्वजानिक जग्गाको भाडा र कर लिने मेयर न्यौपानेले बताउनुभयो । कम्पनीले विस्तृत परियोजना रिपोर्ट दिएपछि स्वीकृतिका लागि संघीय सरकारसँग पनि कुराकानी गरिने नगरपालिकाले जनाएको छ ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायतका हिमशृङ्खला देखिन्छ । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थललगायतको मनोरम ठाउँ देखिन्छ । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ । ‘‘गतवर्ष पर्यटकीय मौसममा दैनिक २÷३ सय हाराहारीमा पर्यटक आउँथे, हालको समयमा दशौं हजारको भीड उर्लियो यसले गर्दा पर्यटन व्यवसायीहरु आर्कषित भएका छन्’’ प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भन्नुभयो ।

आजभोलि मानहुँकोटको चर्चा जताततै भएकोले पर्यटन व्यवसायीहरुको ध्यान तानिएकोले ठुलो लगानीकर्ता भित्रिन खोजिरहेका छन्’’ व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले भन्नुभयो । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सौन्दर्य र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको जमात पनि बाक्लिएकोले पर्यटन व्यवसायीहरु ठुलो लगानी गर्न आतुर देखिएका छन्’ प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्