पोखरा। प्रतिनिधिसभा बैठक आज बस्दै छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६-७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकाले जनाएको छ। कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधबार निधन भएको थियो।
प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य राख्ने चलन थियो।
चालु अधिवेशनमा भने तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रमा विभाजित भएको, प्रतिनिधिसभा विघटनलाई सर्वोर्च्चले बदर गरेको र एमालेभित्रै द्वन्द्व सिर्जना भएकाले परम्परा तोडिएको हो ।
एमाले सांसद विशाल भट्टराईले बैठकमा आफ्नो पार्टीका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्तव्य राख्ने जानकारी दिए। सभामुखको सचिवालयले दलले सिफारिस गरेका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जनाएको छ ।
प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चले ब्युँत्याएपछि फागुन २३ मा बसेको पहिलो बैठकमा सत्तापक्षको असन्तुष्ट पक्ष र प्रतिपक्षको विरोधका कारण असहज अवस्था सिर्जना भएको थियो। त्यसपछिका बैठक शोक प्रस्ताव पारित गरेर स्थगित गरिँदै आएको छ ।