पोखरा। एमाले वरिष्ठ नेता माधव नेपालले आफू र केपी ओलीबीच ४९ वर्षको प्रेम रहेको बताएका छन् ।
आफू पक्षधर राष्ट्रिय युवासंघको भेलालाई शनिबार राष्ट्रियसभा गृहमा सम्बोधन गर्दै नेता नेपालले आफूहरु ओलीसँग नछुट्टिने बताए । ‘केपी ओली मेरोबीचमा ४८–४९ वर्ष लामो प्रेम छ’, नेपालले भने, ‘हामी छुट्टिने पक्षमा छैनौं ।’ उनले आफू ओलीसँग सहकार्यको पक्षमा रहेको उल्लेख गरे । ‘त्यत्रो लामो समयको मायापिरती कहाँ एक रातमा सकिन्छ ? केपी ओलीसँगको मेरो माया पिरती ४८(४९ वर्षको भइसक्यो थाहा छ ?’, नेपालले भने, ‘तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमैका हुनुहोला ।’
नेपालले ओलीले पार्टी विधान, पद्धति र प्रक्रिया मिचेर अघि बढेकाले त्यसको आफूले विरोध गरेको नेपालको भनाइ थियो । ओलीले गोर्खा भर्ती केन्द्र खोले जसरी सडकमा हिंडिरहेका मानिसलाई टिपेर पार्टी केन्द्रीय सदस्य बनाएकामा आफूहरु आपत्ति रहेको बताए । उनले पार्टीलाई विधानअनुसार पार्टीकै रुपमा सञ्चालन गर्नुपर्ने भन्दै ओलीले बोलाएको केन्द्रीय समिति बैठक पार्टी बैठक नभएको टिप्पणी गरे । नेपालले लेनिनवादी संगठनात्मक सिद्धान्तअनुसार पार्टीका अध्यक्षदेखि सबै कमिटीको मातहत हुने भन्दै कसैले आफूलाई सर्बेसर्वा ठान्न नहुने बताए ।
२८ फागुनमा ओली समूहको केन्द्रीय समितिले गरेका निर्णय खारेज नभएसम्म बैठकमा सहभागी नहुने अडान नेपाल समूहले राख्दै आएको छ । नेपाल समूहले शनिबार प्रानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय समिति र संसदीय दल बैठक बहिस्कार गरेको छ । २८ पुसको ओली पक्षीय केन्द्रीय समितिले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये अध्यक्ष र महासचिवबाहेक सबैलाई हटाएको थियो भने नेपाल पक्षधर नेताहरुलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको थियो ।