पोखरा । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।
कम्पनीले जारी पुँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कुल निष्कासनमध्ये २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्नेछ ।
कम्पनीले आईपीओ बिक्रीका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त आईपीओमा सर्वसाधारणले छिटोमा वैशाख २१ सम्म र सो अवधिमा पूर्ण रूपमा बिक्री नभएमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि बढीमा मागेजति आवेदन दिन सक्नेछन् । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन् ।
कम्पनी आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी आईएस रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.